प्रधानमन्त्री बालेन र चिनियाँ राजदूत माओमिङबीच भेट

प्रधानमन्त्री बालेन र चिनियाँ राजदूत माओमिङबीच भेट


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबीच सोमबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारीलाई प्रभावकारी बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउँदै साझा चासो र हितका विषयमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका थिए ।

राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए । उनले द्विपक्षीय सहकार्यलाई आगामी दिनमा थप उचाइमा पुर्‍याउन मिलेर काम गर्ने विश्वाससमेत व्यक्त गरेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री नियुक्त भएपछि बालेनले प्रारम्भिक चरणमा नेपालस्थित राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्तालाई प्राथमिकता दिएका थिए । गत चैत २५ मा आयोजित सामूहिक भेटमा विभिन्न मुलुकका राजदूतहरूले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

यसबीच पछिल्ला दिनहरूमा प्रधानमन्त्री शाहले विदेशी कूटनीतिज्ञहरूसँग द्विपक्षीय भेटघाटलाई पनि तीव्रता दिएका छन् । सोमबार उनले भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि छुट्टै शिष्टाचार भेट गरेका थिए । त्यसअघि असार २३ गते उनले एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार मंगलबार अमेरिकी दूतावासका एक उच्च अधिकारीसँग पनि उनको शिष्टाचार भेट तय भएको छ ।