डा शेखर कोइराला भेट्न कांग्रेसका सभापति गगन थापा पुगे विशालनगर सम्पर्क कार्यलय

डा शेखर कोइराला भेट्न कांग्रेसका सभापति गगन थापा पुगे विशालनगर सम्पर्क कार्यलय

राष्ट्रिय भेला स्थगित गर्न कोइरालालाई दिए गगनले दबाब


फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न वरिष्ठ नेता डा शेखर कोइरालालाई आग्रह गर्नुभएको छ।   आज बिहान विशालनगरस्थित डा कोइरालाको सम्पर्क कार्यालयमा करिब एक घण्टा भएको भेटवार्तामा सभापति थापाले डा कोइरालाले अघि सार्नुभएको पाँचबुँदे प्रस्तावमा सहमति जनाउँदै पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल गर्नुभएको हो।

भेटमा सभापति थापाले आगामी १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न दुवै पक्षका नेताहरूको सामूहिक बैठक बसेर संयुक्त आयोजक समिति निर्माण गरी अघि बढ्न आफूहरू तयार रहेको रहेको स्पष्ट पार्दै सो पहल गर्न कोइरालालाई आग्रह गरेको कोइराला निकट एक नेताले विकासटाइम्सलाई बताए ।

सर्वोच्च अदालतको पछिल्लो आदेशपछि पार्टीभित्रको विवाद समाधानका लागि सभापति थापा थप सक्रिय हुनुभएको बताइएको छ। भेटमा डा कोइरालाले आफूले विगतदेखि नै उठाउँदै आएका विषय स्वीकार गरेर अघि बढ्ने वातावरण निर्माण गर्न ढिला भएको धारणा राख्नुभएको थियो।

बैठकपछि एक नेताका अनुसार डा कोइरालाले सर्वोच्च अदालतको पछिल्लो निस्सापछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आफ्ना मागहरू थप गर्दै अघि बढेको जानकारी गराउनुभएको थियो। उहाँले आफूले फेरि पनि निवर्तमान सभापति देउवा र देउवा पक्षका नेताहरूसँग छलफल गर्ने बताउनुभएको छ।
सभापति थापाको प्रस्तावको जवाफ दिँदै डा कोइरालाले आफू पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभएको थियो। पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफू अझै प्रयासरत रहेको उहाँले जानकारी दिएको ति नेताले बताए ।

भेटमा डा कोइरालाले राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालालाई समेत पार्टीलाई विभाजनको अवस्थासम्म नपुर्‍याउन पटक–पटक आग्रह गरेको जानकारी दिनुभएको थियो। सभापति थापाले राष्ट्रिय भेला रोक्नका लागी पहल गर्न समेत दवाव दिएको ति नेताले बताए ।

बैठकपछि डा कोइरालाले आफू निकट कार्यकर्ताहरूलाई सभापति थापासँगको छलफल सकारात्मक भएको बताउँदै देउवा पक्षका नेताहरूसँग थप छलफल गरेपछि पुनः पार्टी एकता र निकासका विषयमा छलफल गर्ने गरी आजको बैठक टुंगिएको जानकारी गराउनुभएको छ।

कांग्रेसभित्र देखिएको विवाद समाधान गर्दै १५औँ महाधिवेशनको वातावरण निर्माण गर्न पछिल्लो समय विभिन्न पक्षबीच छलफल तीव्र पारिएको छ।