काठमाडौं । करिब पाँच महिनापछि नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किन लागेसँगै राष्ट्रिय भेला आयोजक समितिले विमानस्थलमै शक्ति प्रदर्शनको तयारी गरेको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको नेतृत्वमा देउवाको भव्य स्वागत गर्ने तयारी भइरहेको नेता किरण पौडेलले जानकारी दिए। देउवा २८ गते दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।
नेता पौडेलका अनुसार देउवाको स्वागतका लागि पार्टीका शीर्ष नेताहरू नै विमानस्थल पुग्नेछन्। हामीले स्वागत गर्न पाउनुपर्छ भनेर नै उहाँलाई दिउँसो आउने गरी मिलाइएको हो। संयोजककै नेतृत्वमा पार्टीका शीर्ष नेताहरू स्वागतमा जानुहुन्छ,’ उनले भने। देउवाको स्वागतमा करिब ७ देखि ८ हजार नेता–कार्यकर्ता विमानस्थलमा जाने तयारी रहेकोपौडेलले बताए।
देउवा फागुन १३ गते सिंगापुर गएका थिए। करिब पाँच महिनापछि उनी कांग्रेसको राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा काठमाडौं फर्किन लागेका हुन्।
पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निस्सा पाएपछि देउवा पक्ष थप उत्साहित बनेको छ। देउवा पक्ष राष्ट्रिय भेलाको तयारीमा केन्द्रित भइरहेका बेला सभापति गगन थापा नेतृत्वको संस्थापन पक्ष भने १५औँ महाधिवेशनको तयारीमा जुटेको छ। देउवाको स्वदेश फिर्ती र विमानस्थलमा गर्न लागिएको भनिएको ठूलो संख्याको स्वागतलाई कांग्रेसभित्रको शक्ति समीकरण प्रदर्शनका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया