काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गते आयोजना हुने राष्ट्रिय भेला आयोजक समितिको कार्यक्रममा सहभागी हुनुहुने भएको छ। भेला पार्टी विभाजन गर्ने उद्देश्यले आयोजना नगरिएकाले आफू सहभागी भएर पार्टी एकताका लागि आह्वान गर्ने डा कोइरालाले बताउनुभएको छ।
डा कोइरालाले भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेसलाई विभाजनतर्फ लैजान नहुने र पार्टीभित्र देखिएको विवाद संवाद र सहमतिबाट समाधान गर्नुपर्ने धारणा राख्नुहुने बताइएको छ। यसैबीच नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पनि भेलामा सहभागी हुनुहुने भएको छ। देउवा साउन २८ गते नेपाल फर्किने कार्यक्रम रहेको छ। उहाँले साउन २९ गते हुने कार्यक्रममा सम्बोधन गर्ने तयारी छ।
देउवाको स्वदेश फिर्ती र राष्ट्रिय भेलामा शेखर कोइरालाको सहभागिताले कांग्रेसभित्रको पछिल्लो राजनीतिक समीकरणलाई थप चासोका साथ हेरिएको छ। कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारी, पार्टीको आधिकारिकता विवाद तथा नेतृत्वबीच देखिएको मतभेदका कारण आन्तरिक विवाद चर्किरहेका बेला राष्ट्रिय भेलामा कोइराला र देउवा दुवैको सहभागितालाई अर्थपूर्ण मानिएको छ।
भेलामा पार्टी विभाजनको सट्टा एकता, महाधिवेशनको सुनिश्चितता र वर्तमान विवादको निकासका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

प्रतिक्रिया