सरकारलाई बुढाको अल्टिमेटम, ‘भदौ १ देखि सदनमै धर्ना बस्छु’

सरकारलाई बुढाको अल्टिमेटम, ‘भदौ १ देखि सदनमै धर्ना बस्छु’


काठमाडौं । नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट भूकम्पपीडितको पुनर्स्थापनामा सरकारले चरम लापरबाही गरेको आरोप लगाउँदै भदौ १ गतेदेखि सदनमै धर्ना बस्ने चेतावनी दिएका छन्।  प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले भूकम्प गएको लामो समय बितिसक्दा समेत पीडितका घर पुनर्निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भूकम्पले भत्काएका घरहरू १०–१० महिना बितिसक्दा पनि पुनर्निर्माण हुन नसकेको भन्दै सरकारसँग प्रश्न गरे, ‘जाजरकोट भूकम्पले भत्काएका घरहरू १०–१० महिना बितिसक्यो तर बनेनन्। बन्न अझ कति वर्ष लाग्ने हो ? कि टहरामै सधैँ राख्ने हो?’  बुढाले पुनर्निर्माण कार्यविधि संशोधन कहिले हुने र छुटेका वास्तविक लाभग्राहीको पुनः विस्तृत क्षति आकलन कहिलेदेखि सुरु हुने भन्ने विषयमा समेत सरकारसँग जवाफ मागे।

पुनर्निर्माणमा भइरहेको ढिलाइ सामान्य प्रशासनिक कमजोरी नभई सरकारको चरम लापरबाही भएको उनको आरोप छ। भूकम्पपीडित नागरिकले सरकारसँग दया नभई आफ्नो अधिकार मागिरहेको उनले बताए।  बुढाले भदौ १ गते बस्ने प्रतिनिधिसभा बैठकमै सरकारले जाजरकोट भूकम्प पुनर्निर्माणको स्पष्ट र समयबद्ध कार्ययोजना प्रस्तुत गर्नुपर्ने माग गरेका छन्।

उनले मौजुदा पुनर्निर्माण कार्यविधि तत्काल संशोधन गर्नुपर्ने, छुटेका वास्तविक लाभग्राहीको पुनः मूल्याङ्कन गर्नुपर्ने तथा आवश्यक बजेट सुनिश्चित गर्नुपर्ने मागसमेत अघि सारे।  ‘मेरो स्पष्ट माग छ– भदौ १ गतेको सदनमा सरकारले जाजरकोट भूकम्प पुनर्निर्माणको समयबद्ध कार्ययोजना सदनमा प्रस्तुत, मौजुदा कार्यविधि संशोधन, छुटेका वास्तविक लाभग्राहीको पुनः मूल्याङ्कन, आवश्यक बजेट तत्काल सुनिश्चित गरियोस् र ढिलासुस्ती गर्ने निकायलाई जवाफदेही बनाइयोस्,’ उनले भने।