काठमाडौं । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको छ ।
बुधबार तीन दलका शीर्ष नेताले दुईबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकारमा संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेका हुन् ।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका कार्यक्रमहरूमा तीन दलले मिलेर काम गर्नेछन् । यससँगै नेकपा मसाल निकट राष्ट्रिय जनमोर्चालाई पनि प्रदेश सरकारमा सहभागी गराउने बाटो खुलेको छ । लुम्बिनी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाको एक सांसद छन् ।
सहमतिको दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षा गर्दै प्रतिगमनविरुद्ध आवश्यक राजनीतिक सहकार्यलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।
यसअघि साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो ।


प्रतिक्रिया