गगन थापाको नेतृत्वमा कांग्रेस सबल राष्ट्रिय शक्ति बन्छ : विश्वप्रकाश

गगन थापाको नेतृत्वमा कांग्रेस सबल राष्ट्रिय शक्ति बन्छ : विश्वप्रकाश


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन तथा समुन्नतिको यात्रालाई गति दिन पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताएका छन्। शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै अहिलेको राष्ट्रिय आवश्यकता भएको बताएका हुन्।

देखिएका विभिन्न प्रतिकूलता र मतभिन्नताका बीच पनि नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आगामी दिनमा पार्टी अझ बलियो भएर अघि बढ्ने विश्वास उनले व्यक्त गरे। उपसभापति शर्माले नेता तथा कार्यकर्ताबीचका व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान हुनुपर्ने भए पनि व्यक्ति भन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुनुपर्ने धारणा राखे।

‘व्यक्ति र संस्थाप्रतिको निष्ठामध्ये चयन गर्नुपर्दा हामीले पार्टी र देशलाई नै प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘व्यक्तिगत सम्बन्धभन्दा माथि उठेर पार्टीको संस्थागत मर्यादा र सिद्धान्तलाई आत्मसात गर्न म सबै साथीहरूलाई आग्रह गर्दछु।’ शर्माले पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि आफूहरूले जेठ १६ गते नै नेताहरू समक्ष सातबुँदे लिखित प्रस्ताव पठाएको पनि जानकारी दिए। आन्तरिक विषयमा संयम र परिपक्वता देखाउन उक्त प्रस्ताव सुरुमा गोप्य राखिएको र पछि जेठ ३१ गते सार्वजनिक गरिएको उनको भनाइ थियो। गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिबारे चर्चा गर्दै शर्माले उक्त विषयलाई कसैको जित वा हारका रूपमा हेर्न नहुने बताए।

उनले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले आगामी दिनमा सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू पूर्ण रूपमा दृढ रहेको बताए। ‘पार्टीभित्रको एकता, संस्थागत मर्यादा र सिद्धान्तप्रतिको निष्ठालाई बलियो बनाउँदै कांग्रेसलाई देशको लोकतान्त्रिक र समुन्नत भविष्यका लागि प्रभावकारी राष्ट्रिय शक्तिका रूपमा अघि बढाउनुपर्छ,’ शर्माको भनाइ थियो।