काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको पूर्वसंस्थापन समूहले शुक्रबार आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई ‘निन्दा सम्मेलन भाग २’ को संज्ञा दिएका छन्।लितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै शर्माले यसअघि साउन ६ गते पहिलो ‘निन्दा सम्मेलन’ भएको र शुक्रबार दोस्रो संस्करण आयोजना हुन लागेको टिप्पणी गरेका हुन्। उनले राष्ट्रिय भेला आयोजना भए पनि त्यसपछि पार्टी एकताका लागि खुला हृदयका साथ संवादको वातावरण बनाउन आफूहरू तयार रहेको बताए।
‘६ साउनमा पहिलो निन्दा सम्मेलन भयो, आज भाग २ हुँदैछ,’ शर्माले भने, ‘तर हामी पार्टी एकताका लागि र सबै पक्षलाई समेटेर लैजानका लागि वातावरण बनाउने कुरामा खुला छौँ। जसरी ६ साउनको निन्दा सम्मेलनपछि खुला भएका थियौँ।’ शर्माले संवाद वा अदालतबाट जहाँबाट विवादको निरुपण भए पनि निर्धारित समयमै नेपाली कांग्रेसको १५औँ महाधिवेशन हुने दाबी गरे। उनले उक्त महाधिवेशनबाट गगन थापालाई ७१ प्रतिशत बहुमतसहित पार्टी सभापति बनाउने घोषणा पनि गरे।
देउवालाई परिवर्तनको सन्देश दिन सुझाव
उपसभापति शर्माले परिवर्तनलाई आत्मसात गर्ने प्रतिबद्धतासहित लिखित वक्तव्य जारी गरेका निवर्तमान सभापति शेरबहादुर देउवालाई राष्ट्रिय भेलाबाट पनि त्यही सन्देश दिन सुझाव दिए। देउवाले युवालाई अगाडि बढाउने र परिवर्तनलाई आत्मसात गर्ने बताएका भन्दै शर्माले शुक्रबारको भेलाबाट पनि सोही सन्देश प्रवाह हुनुपर्ने धारणा राखे। उनले कांग्रेसले अहिले परिवर्तनलाई आत्मसात गरेको दाबी गर्दै युवा पुस्तालाई नेतृत्वमा स्वीकार गर्ने हृदय पार्टीभित्र हुनुपर्ने बताए।
‘हामीले ३६ वर्षको युवकलाई प्रधानमन्त्री मानेका छौँ। त्यही उमेर आसपासको युवालाई कांग्रेसको सभापति स्वीकार्ने हृदय राख्न सकेनौँ भने त्यहाँ प्रश्न उब्जन्छ,’ शर्माले भने। उनले देउवाले पार्टीभित्र अभिभावकीय भूमिका र जिम्मेवारी निर्वाह गर्नुपर्ने पनि बताए।
‘कांग्रेस फुट्ने सम्भावना सकियो’
शर्माले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनको निस्सा दिएसँगै पार्टी फुट्ने सम्भावना समाप्त भएको दाबी गरे। अदालतबाट निस्सा दिएपछि अलग्गै दल बन्ने सम्भावना नरहेको उल्लेख गर्दै उनले राष्ट्रिय भेलापछि फेरि पार्टी एकताका लागि संवाद अघि बढ्ने बताए। ‘अदालतले निस्सा दिइसकेपछि अलग्गै दल बन्ने सम्भावना सकिएको छ। त्यो भेलापछि पनि हामी संवाद गर्नेछौँ। सबै कुराका लागि खुला छौँ,’ उनले भने। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासमेत पार्टी एकताकै पक्षमा रहेको भन्दै शर्माले राष्ट्रिय भेलाले पनि उनीहरूको भावनालाई आत्मसात गर्ने विश्वास व्यक्त गरे। ‘तत्कालीन कार्यवाहक सभापति र नेता शेखर कोइरालाको मत पनि एकताकै पक्षमा छ,’ उनले भने, ‘उहाँहरूको मतलाई भेलाले आत्मसात गर्नेछ भन्ने हामीलाई लागिरहेको छ।’

प्रतिक्रिया