‘ए मेरो हजुर ५’को शुभमुहूर्तसहित छायांकन सुरु

‘ए मेरो हजुर ५’को शुभमुहूर्तसहित छायांकन सुरु


काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने सिनेमा ‘ए मेरो हजुर ५’को शुभमुहूर्त गरिएको छ ।

निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो । बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन् ।

निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा सिनेमाको छायांकन गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन् । उनले बडीमालिका धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि भएको बताएकी छन् ।

उनले भनिन्, ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत संगम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो ।’

सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिनेछन् । यो उनीहरूको तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए । सिनेमामा यी दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता सुनिलकुमार थापा हुन् । सिनेमाको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् । अनमोल र सुहानासहित सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ ।

रामजी लामिछानेको कोरियोग्राफी रहने सिनेमाको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ । संगीत संयोजन उदय राज पौडेलले गर्नेछन् ।

सिनेमाको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा रहेका छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन् । निर्माण सहायकमा रञ्जित कोइराला रहनेछन् । कास्टिङ डिरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन् ।

त्यस्तै पोस्ट–प्रोडक्सन प्रमुख साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअप/हेयरमा रोनिशा अधिकारी छन् ।

सिनेमाको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् । मिडिया संयोजकको जिम्मेवारी दिनेश सिटौला फिल्म्स (सीपी जैसी)ले सम्हाल्नेछ भने पब्लिसिटी डिजाइनरका रूपमा टौवा प्रोडक्सन जोडिएको छ ।

‘ए मेरो हजुर’को पहिलो शृंखलामा मुख्य भूमिका देखिएकी झरना करिब २५ वर्षपछि पाँचौँ संस्करणमा अभिनय गर्न लागेकी हुन् । उनी पुरानै भूमिकामा फर्किन लागेकी हुन् कि नयाँ क्यारेक्टरमा भन्ने निर्माण टिमले खुलाएको छैन । जसले दर्शकमाझ झरनाको भूमिका कौतुहल्ता जगाएको छ । यो सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ ।