काठमाडौँ। नेपाली कांग्रेसको तीनदिने राष्ट्रिय भेलाले नेपालको सनातन धर्म, संस्कृति र मौलिक धार्मिक पहिचानलाई राष्ट्रिय पहिचानको प्रमुख आधारका रूपमा अघि बढाउने विशेष प्रस्ताव पारित गरेको छ।
सुकेधारामा आइतबार सम्पन्न भेलाले नेपालको परम्परागत धार्मिक तथा सांस्कृतिक जगलाई संरक्षण र सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
भेलाले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म र संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउन कांग्रेस प्रतिबद्ध रहनेछ।’
कांग्रेसले परापूर्वकालदेखि नेपालमा प्रचलित विशिष्ट धर्महरूको संरक्षणलाई पनि आफ्नो दायित्वका रूपमा उल्लेख गरेको छ। पारित प्रस्तावमा सनातनदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत तथा प्राकृत धर्मको संरक्षण गर्दै तिनका मौलिक पहिचान जोगाउन पार्टीले विशेष भूमिका खेल्ने उल्लेख छ।
पार्टीले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गरे पनि व्यक्तिगत धार्मिक स्वतन्त्रता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई समान महत्त्व दिएको जनाएको छ। नेपाल बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको यथार्थलाई आत्मसात् गर्दै सबै धर्म, समुदाय र संस्कृतिबीच आपसी एकता तथा सहिष्णुता कायम राख्ने नीति कांग्रेसले लिने प्रस्तावमा उल्लेख छ।
यसअघि भेलाको समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान सभापति शेरबहादुर देउवाले आफू व्यक्तिगत रूपमा सनातन हिन्दु धर्म मान्ने भए पनि सबै धर्मप्रति समान सम्मान रहेको धारणा राखेका थिए।
भेलाको समापनका क्रममा प्रस्तावमा प्रयोग भएका केही शब्दको छनोटलाई लिएर नेताहरूबीच सामान्य मतभेदसमेत देखिएको थियो।

प्रतिक्रिया