गोठलापानीमा ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि मन्त्री लम्साललाई काठमाडौं ल्याउदै

गोठलापानीमा ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि मन्त्री लम्साललाई काठमाडौं ल्याउदै


बैतडी । अस्वस्थ्य भएपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदैछ। आइतबार साँझ करिब सवा ६ बजे उनलाई बैतडीको दशरथचन्द नगरपालिका–४, गोठलापानीबाट थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूका अनुसार सेनाको हेलिकप्टर सुरुमा बैतडीबाट कैलालीको धनगढी जानेछ। त्यसपछि धनगढीबाट मन्त्री लम्साललाई लिएर काठमाडौं प्रस्थान गर्ने तयारी छ।

मन्त्री लम्साल पछिल्ला केही दिनदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा थिए। सोही क्रममा उनी शनिबार राति गोठलापानीमा बास बसेका थिए। रातिदेखि नै उनलाई ज्वरो आउने, घाँटी तथा हातखुट्टा दुख्ने समस्या देखिएको सूचना अधिकारी थारूले बताए। त्यसपछि स्थानीय चिकित्सकमार्फत उपचार गराइएको थियो। स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि थप उपचार र स्वास्थ्य परीक्षणका लागि उनलाई काठमाडौं ल्याउन लागिएको प्रशासनले जनाएको छ।