प्रधानमन्त्री बालेनसँग भदौ १० मा प्रत्यक्ष प्रश्नोत्तर

प्रधानमन्त्री बालेनसँग भदौ १० मा प्रत्यक्ष प्रश्नोत्तर


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते प्रतिनिधिसभामा सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिने कार्यक्रम राखिएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को व्यवस्थाअनुसार भदौ १० गतेको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिने जानकारी गराएका हुन् ।

सभामुख अर्यालले प्रश्न सोध्न इच्छुक सांसदलाई नाम टिपाउनसमेत आग्रह गरेका छन् । उनका अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रत्येक दलबाट कम्तीमा एक जना सांसद सहभागी हुने गरी प्रधानमन्त्रीलाई बढीमा १५ वटा प्रश्न सोध्न सकिनेछ ।

प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहलाई संसद्मा उपस्थित गराउनुपर्ने माग विपक्षी दलका सांसदहरूले गर्दै आएका थिए ।

प्रधानमन्त्री संसद्‌मा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलले विरोध गर्दै आएपछि सोमबारकै बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए ।

अब भदौ १० गते हुने प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सरकारका कामकारबाही, नीति तथा निर्णयलगायत समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।