काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूलाई डेढ वर्षदेखि एउटै व्यक्तिले फरक–फरक मोबाइल नम्बरबाट पटक–पटक फोन गरेर दुःख दिइरहेको बताएकी छन् ।
अधिकारीले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई फोन गर्ने व्यक्तिले फोन उठाउँदा ‘म रमेश शाही’ भनेर आफ्नो परिचय दिने गरेको तर फोन गर्नुको कारणबारे भने स्पष्ट जानकारी नदिने गरेको बताएकी हुन् ।
उनका अनुसार एउटा नम्बर ब्लक गरेपछि अर्को नम्बरबाट उही व्यक्तिले फोन गर्ने क्रम जारी छ । डेढ वर्षको अवधिमा आफूले करिब ५०० वटा फरक–फरक नम्बरबाट आएका कल ब्लक गरिसकेको उनले उल्लेख गरेकी छन् ।
‘एउटा नम्बर ब्लक गरेपछि फेरि अर्को नम्बरबाट फोन आउने क्रम रोकिएको छैन,’ उनले लेखेकी छन् ।
अधिकारीले आफ्नो मोबाइल नम्बर कसैले माग्दैमा बिना कारण र सोचविचार अरूलाई नदिन पनि आग्रह गरेकी छन् । आफ्नो नम्बर किन र के कामका लागि मागिएको हो भन्ने बुझेर मात्र उपलब्ध गराउन उनले अनुरोध गरेकी छन् ।
त्यस्तै, उक्त व्यक्तिलाई आफ्नो मोबाइल नम्बर उपलब्ध गराउनेहरूलाई पनि सोचविचार गरेर मात्र नम्बर दिन उनले आग्रह गरेकी छन् ।
लामो समयदेखि भइरहेको यस्तो व्यवहार रोकियोस् भन्ने उद्देश्यले आफूले यो विषय सार्वजनिक गरेको स्पष्ट पार्दै अधिकारीले कसैलाई अनावश्यक रूपमा आरोप लगाउने उद्देश्य नरहेको बताएकी छन् ।

प्रतिक्रिया