गृह मन्त्रालयले एनप्याब्सनलाई गर्‍यो निलम्बन

गृह मन्त्रालयले एनप्याब्सनलाई गर्‍यो निलम्बन


काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि एनप्याब्सनलाई निलम्बन गरिएको जनाएको हो ।

मन्त्रालयका अनुसार राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पटकपटक पालना नगरेपछि ऐनको दफा ६ को उपदफा (२) अनुसार संस्थालाई निलम्बन गरिएको हो ।

गृह मन्त्रालयले यसअघि २०८३ असोज २३ गते सम्बन्धित सरोकारवालालाई छलफलका लागि बोलाएर राष्ट्रिय निर्देशन ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो । तर, त्यसअनुसार काम नभएको मन्त्रालयको ठहर छ ।

त्यस्तै, एनप्याब्सनका पदाधिकारीले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पनि मन्त्रालयले जनाएको छ ।

निलम्बनसँगै मन्त्रालयले एनप्याब्सनका नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि नगर्न चेतावनी दिएको छ । सूचनापछि संस्थाका नाममा कुनै गतिविधि गरिए गैरकानुनी हुने र प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ ।