सुर्खेत । कर्णाली प्रदेश सरकार विस्तारको तयारी अघि बढेको छ। सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपाबीच भएको सहमतिअनुसार नेकपाबाट तीन जना मन्त्री नियुक्त हुने भएका छन्।
सहमति कार्यान्वयन गर्दै नेकपाले कर्णाली सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग–पर्यटन–वन तथा वातावरण र भूमि व्यवस्था–कृषि तथा सहकारी मन्त्रालय पाउने भएको छ। तीनवटै मन्त्रालयमा आजै मन्त्री नियुक्त गर्ने तयारी भइरहेको नेकपा स्रोतले जनाएको छ। मन्त्रीहरूको शपथका लागि बिहान ११ बजे समय मागिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथको तयारी भइरहेको भए पनि अहिलेसम्म मन्त्रीहरूको अन्तिम नामावली भने प्राप्त भएको छैन। कार्यालयका हिरालाल चौधरीले शपथका लागि समय मागिएको तर मन्त्रीको नामसहितको औपचारिक सूची नआएको बताएका छन्।
नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले पनि आजै पार्टीबाट तीन जना मन्त्री नियुक्त हुने पुष्टि गरेका छन्। तर उनले मन्त्री बन्ने व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनन्।
यसैबीच विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका रूपमा चर्चामा छ। यद्यपि अन्तिम निर्णय र औपचारिक नियुक्ति नभएसम्म को–को मन्त्री बन्ने भन्ने विषयमा निश्चितता भइसकेको छैन।
तीन मन्त्रीको नियुक्तिसँगै कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार दलहरूबीच भएको मन्त्रालय बाँडफाँट कार्यान्वयनमा जानेछ। आजको शपथपछि प्रदेश सरकारको संरचना थप विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया