काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सर्भेक्षक पदमा कार्यरत विन्देश्वर साह सुडीविरुद्ध ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै सुडीले आफ्नो वैधानिक आम्दानीभन्दा बढी खर्च तथा लगानी गरी स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको दाबी गरेको हो ।
आयोगका अनुसार सुडीले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा अमिन पदमा अस्थायी नियुक्ति लिएको २०४६ साल माघ १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको थियो ।
अनुसन्धानका क्रममा सुडी र उनका एकाघर परिवारका सदस्यले विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
तर सोही अवधिमा जग्गा खरिद, शेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण तथा सापटी भुक्तानी, बैंक मौज्दात, ऋण तथा सापटी दिएको रकम, जग्गा खरिदसम्बन्धी कमिसनलगायतमा ९ करोड ७५ लाख ६९ हजार ५ सय ८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको पाइएको आयोगको दाबी छ ।
वैधानिक आयको तुलनामा खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार ५ सय ५१ रुपैयाँ ८० पैसा बढी देखिएको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ ।
आयोगका अनुसार स्रोत नखुलेको सम्पत्ति सुडीकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत रहेको पाइएको छ । त्यसैले सुडीसँगै उनकी श्रीमतीलाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको हो ।
अख्तियारले सुडीमाथि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगोअनुसार कैद तथा जरिवाना गर्न मागदाबी गरेको छ । साथै गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न तथा सम्पत्ति विवरणमा वास्तविक सम्पत्ति नदेखाई लुकाएको पुष्टि भएको भन्दै झुट्टा विवरण पेस गरेको कसुरमा समेत सजाय माग गरिएको छ ।
सुडीकी श्रीमती सुमिन्त्रा देवी साहलाई भने स्रोत नखुलेको सम्पत्तिबाट उनको नाममा खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया