प्रधानमन्त्री शाहले भने – उद्धार कार्य रातभर जारी रहन्छ

प्रधानमन्त्री शाहले भने – उद्धार कार्य रातभर जारी रहन्छ


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा २५० भन्दा बढी नागरिकको उद्धार गरिएको बताएका छन् । उनले बेपत्ता नागरिकको खोजी, घाइतेको उपचार र प्रभावितको उद्धारलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको दुःखद खबर प्राप्त भएको जानकारी दिए । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।

प्रधानमन्त्री शाहका अनुसार बाढी आएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद् बैठक बसेर उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाउने निर्णय गरिएको थियो ।

उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको उनले बताए । सुरक्षाकर्मीले नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरेको र घाइतेलाई तत्काल काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनको भनाइ छ ।

घाइतेको निःशुल्क उपचारका लागि काठमाडौंको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको प्रधानमन्त्री शाहले जानकारी दिए । उपत्यकाका अन्य ठूला अस्पताललाई समेत घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताए ।

प्रभावित क्षेत्रमा मेडिकल टोली तथा चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरिएको र नेपाल स्काउट तथा विश्व स्वास्थ्य संगठनलगायतका निकायबाट समेत चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री पठाइएको प्रधानमन्त्री शाहले बताए ।

उनका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् । ती क्षेत्रमा खाद्यान्न, खानेपानी, औषधि तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताए ।

प्रधानमन्त्री शाहले बेपत्ता नागरिकको खोजी तथा उद्धार रातभर जारी रहने बताएका छन् । साथै, बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने उनको भनाइ छ ।

“यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ,” प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने ।

उनले विपद्को समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको उद्धार तथा राहत अभियानमा सहयोग गर्नसमेत अपिल गरेका छन् ।