बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले तिब्बतको केरुङ काउन्टीमा गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिवसमेत रहेका सीले शुक्रबार सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकको अध्यक्षता गर्दै पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गरेका हुन्।
बैठकको सुरुवातमा सीसहित चिनियाँ नेतृत्वले बुधबार केरुङ सीमावर्ती क्षेत्रमा गएको पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक मिनेट मौनधारण गरेका थिए।
बैठकले पार्टी केन्द्रीय समितिको बलियो नेतृत्वमा आपत्कालीन उद्धार कार्य तीव्र, व्यवस्थित र समन्वयात्मक रूपमा भइरहेको जनाएको छ। प्रभावित नागरिकको सुरक्षित स्थानमा स्थानान्तरण तथा दुर्घटनापछिको व्यवस्थापनको काम पनि अघि बढाइएको चिनियाँ पक्षले जनाएको छ।
केरुङ क्षेत्र अत्यधिक चिसो हिमाली भूभागमा पर्ने, भिरालो खोँच, मौसममा तीव्र परिवर्तन, आसपासका हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिम रहेको क्षेत्र भएकाले उद्धार कार्य चुनौतीपूर्ण रहेको बैठकमा उल्लेख गरिएको छ।
बैठकले सम्बन्धित निकाय तथा विभागलाई उद्धार कार्यका लागि प्रभावकारी र निर्णायक कदम चाल्न निर्देशन दिएको छ। हराइरहेका चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारका लागि वैज्ञानिक ढंगले योजना बनाएर सबै सम्भावित प्रयास गर्न पनि निर्देशन दिइएको छ।
यसैबीच, चीनले नेपालमा पहिरो तथा विपद्बाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने चीनले जनाएको छ।
केरुङ सीमावर्ती क्षेत्रमा भएको विपद्पछि चीनको उच्च नेतृत्व तहबाटै उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिइएको हो। नेपालतर्फ पनि विपद् प्रभावित क्षेत्रमा चिनियाँ सहयोग र अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढ्ने भएको छ।

प्रतिक्रिया