काठमाडौं । नेपाल–चीन सीमा नजिकै चीनको तिब्बततर्फ पहिरोका कारण थुनिएर बनेको तालको पानीको सतह केही घटेको छ। पानीको बहाव सामान्य बन्दै गएपछि चिनियाँ अधिकारीहरूले केही समयका लागि स्थगित गरिएको उद्धार कार्य पुनः सुरु गरेका छन्।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तालको पानीको सतहमा कमी आएको छ भने तालबाट पानी बाहिरिने ओभरफ्लोसमेत रोकिएको छ। यससँगै प्रभावित क्षेत्रमा अवस्था क्रमशः सामान्य बन्दै गएको जनाइएको छ।
ताल फुटेर एक्कासि ठूलो बाढी आउन सक्ने जोखिम बढेपछि चिनियाँ उद्धार टोलीले करिब तीन घण्टाका लागि खोज तथा उद्धार कार्य रोकेका थिए। जोखिम केही कम भएपछि उद्धार कार्य पुनः सञ्चालनमा ल्याइएको हो।
तिब्बततर्फको जलाधार क्षेत्रमा आएको परिवर्तनका कारण नेपालको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढ्ने तथा बाढीको जोखिम देखिएको थियो। पछिल्लो समय तालको सतह घटेको र ओभरफ्लो रोकिएको खबरले तल्लो तटीय क्षेत्रमा तत्कालको जोखिम केही कम हुने संकेत गरेको छ।
यद्यपि, बाढीको जोखिम पूर्ण रूपमा टरिनसकेको भन्दै सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरिरहेको छ। विशेषगरी रसुवाको स्याफ्रुबेँसीदेखि मुग्लिनसम्म त्रिशूली नदी किनारमा बसोबास गर्ने नागरिकलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरिएको छ।

प्रतिक्रिया