काठमाडौं । चीनले बाढीपहिरो प्रभावित नेपाललाई २० लाख अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने भएको छ । यससँगै चीनले राहत सामग्री बोकेका दुईवटा कार्गो विमान तथा सुरुङ उद्धारसम्बन्धी विज्ञहरूको दुईवटा टोलीसमेत नेपाल पठाउने तयारी गरेको छ ।
परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार चीनबाट आउने सहयोगमा नगद सहायता, राहत सामग्री र प्राविधिक जनशक्ति समावेश छन् । चीनले यसअघि पनि नेपाललाई तत्काल आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
भोटेकोशी बाढी र पहिरोबाट ठूलो जनधनको क्षति भएपछि नेपालले प्रभावित क्षेत्रमा उद्धारभन्दा प्राविधिक सहयोगलाई प्राथमिकता दिएको छ । विशेषगरी सुरुङमा फसेकाको उद्धार, सडक तथा सञ्चार सम्पर्क पुनःस्थापना, शव पहिचान र डीएनए परीक्षणलगायतका क्षेत्रमा विशेषज्ञ सहयोग आवश्यक रहेको सरकारले जनाएको छ ।
नेपालको विपद्मा चीनसँगै भारत, दक्षिण कोरिया, अमेरिका, बेलायत, जापान, युरोपेली संघलगायतका मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि सहयोगको घोषणा गरेका छन् ।

प्रतिक्रिया