बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोस्ट नगर्न अपील

बाढी प्रभावित बालबालिकाको फोटो तथा भिडिओ सामाजिक सञ्जालमा पोस्ट नगर्न अपील


काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडिओ सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न अपील गरेको छ ।

मंगलबार एक सुचना जारी गर्दै परिषद्ले भदौ १० गते आएको बाढीबाट प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराउने क्रममा खिचिएका फोटो तथा भिडिओ सार्वजनिक नगर्न आग्रह गरेको हो ।

परिषद्का अनुसार पीडित तथा प्रभावित बालबालिकाको गोपनीयता, मर्यादा र बाल अधिकारको सम्मान गर्नुपर्ने भएकाले उनीहरूको फोटो तथा भिडिओ कुनै पनि सामाजिक सञ्जालमा पोस्ट गर्ने वा गराउने कार्य नगर्न व्यक्ति तथा संस्थालाई आग्रह गरिएको छ ।

परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिंक्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप तथा एक्सरट्विटरलगायतका सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको हो ।