काठमाडौं । अमेरिकी आर्मी सेक्रेटरी ड्यान ड्रिस्कोलले करिब १८ महिना पदमा रहेपछि राजीनामा दिएका छन् ।
बीबीसीको अमेरिकी साझेदार मिडिया संस्था सीबीएसका अनुसार ड्रिस्कोल र अमेरिकी रक्षामन्त्री पीट हेगसेथबीच महिनौँदेखि विवाद र तनाव रहँदै आएको थियो । यहीबीच ड्रिस्कोलले राजीनामा दिएका हुन् ।
४१ वर्षीय ड्रिस्कोल अमेरिकी सेनाको इतिहासमा सबैभन्दा कम उमेरमा आर्मी सेक्रेटरी बनेका व्यक्ति हुन् । उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘ड्रोन गाइ’ का रूपमा समेत चिनिन्छ ।
ह्वाइट हाउसले सीबीएसलाई दिएको वक्तव्यमा ड्रिस्कोलले ट्रम्पको ‘मेक अमेरिका स्ट्रङ अगेन’ अभियान अघि बढाउन प्रभावकारी भूमिका खेलेको र सैन्य कारबाहीका क्रममा उत्कृष्ट नेतृत्व प्रदान गरेको जनाएको छ ।
ड्रिस्कोल र हेगसेथबीचको पर्दापछाडिको विवादको विस्तृत कारण भने सार्वजनिक भएको छैन । तर सीबीएसका अनुसार ड्रिस्कोल अमेरिकी आर्मी चिफ अफ स्टाफ रेन्डी जर्जका निकट मित्र हुन् । जर्जलाई पनि हेगसेथले राजीनामा दिन आग्रह गरेको बताइएको छ ।
ड्रिस्कोल पछिल्लो समय पदबाट बाहिरिएका उच्च तहका अमेरिकी सैन्य नेतृत्वमध्ये पछिल्ला व्यक्ति हुन् । यसअघि अप्रिलमा अमेरिकी नेभी सेक्रेटरी जोन फेलनले अचानक राजीनामा दिएका थिए ।
त्यस्तै, आर्मी चिफ अफ स्टाफ रेन्डी जर्ज, आर्मी जनरल डेभिड होड्न र मेजर जनरल विलियम ग्रिन लगायतका उच्च अधिकारीले पनि पद छाडिसकेका छन् ।
पेन्टागनको नेतृत्व सम्हालेपछि रक्षामन्त्री हेगसेथले एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई पदबाट हटाइसकेका छन् । हटाइएकामध्ये नेभीका प्रमुख र एयर फोर्सका उपप्रमुखसमेत छन् ।

प्रतिक्रिया