प्रिन्सेस डायनाको ‘रेभेन्ज ड्रेस’ लिलामीमा राखिँदै

प्रिन्सेस डायनाको ‘रेभेन्ज ड्रेस’ लिलामीमा राखिँदै


काठमाडौं । दिवंगत बेलायती प्रिन्सेस डायनाले लगाएको चर्चित ‘रेभेन्ज ड्रेस’ लिलामीमा राखिने भएको छ ।

वेल्सकी तत्कालीन प्रिन्सेस डायनाले कालो रेशमी स्ट्र्यापलेस साँझको पोसाक सन् १९९४ मा लन्डनमा आयोजित एक कार्यक्रममा लगाएकी थिइन् । त्यसको केही घण्टाअघि उनका तत्कालीन अलग्गिएका पति राजकुमार चार्ल्सले वैवाहिक सम्बन्धका क्रममा आफूले परस्त्रीसँग सम्बन्ध राखेको स्वीकार गरेका थिए ।

सन् १९९४ मा सेर्पेन्टाइन ग्यालरीमा आयोजित कार्यक्रममा उक्त पोसाकमा डायनाको नाटकीय उपस्थितिलाई लोकप्रिय संस्कृतिको एउटा प्रतिष्ठित क्षणका रूपमा लिइन्छ ।

लिलामी संस्था सोथेबीजले आगामी ९ डिसेम्बरमा हुने लिलामीमा उक्त पोसाक २ लाख २० हजार पाउन्ड (करिब ३ लाख अमेरिकी डलर) सम्ममा बिक्री हुन सक्ने अनुमान गरेको छ । सन् १९९७ पछि पहिलोपटक यो पोसाक लिलामीमा राखिन लागेको हो । सन् १९९७ मा डायनाले आफ्नो निधन हुनुभन्दा केही महिनाअघि परोपकारी संस्थाका लागि रकम जुटाउन आफ्ना ७९ वटा पोसाक बिक्री गरेकी थिइन् ।

सोथेबीजकी ह्यान्डब्याग तथा फेसनसम्बन्धी विश्वव्यापी प्रमुख मोर्गेन हलिमीले एक विज्ञप्तिमा डायनाले फेसन आफैंमा एउटा भाषाका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा सहजै बुझेको बताइन् ।

उनका अनुसार डायनाले आफ्नो जीवनको सबैभन्दा बढी निगरानी गरिएको र भावनात्मक रूपमा तनावपूर्ण घटनामध्ये एकका बेला उक्त पोसाकलाई आफ्नै शैलीमा सबैभन्दा शक्तिशाली सन्देशमध्ये एकमा परिणत गरेकी थिइन् ।

‘उनको कथा अरूले भनिरहेका बेला उनी त्यही क्षणमा प्रवेश गरिन् र आफूले लगाएको पोसाकमार्फत आफ्नो कथामाथिको नियन्त्रण आफैंले फिर्ता लिइन्,’ हलिमीले भनिन् ।

सेर्पेन्टाइन ग्यालरीमा च्यारिटीका लागि आयोजित उक्त रात्रिभोजकै दिन तत्कालीन वेल्सका राजकुमार तथा अहिलेका राजा चार्ल्सले एक वृत्तचित्रमा डायनाप्रति आफूले बेइमानी गरेको स्वीकार गरेका थिए । यसअघि वर्षौंदेखि उनीहरूको सम्बन्धबारे विभिन्न हल्ला र सञ्चारमाध्यममा समाचार प्रकाशित हुँदै आएका थिए ।

उक्त टेलिभिजन अन्तर्वार्ताको सामग्री केही दिनअघि नै बाहिरिएको थियो । त्यसैले अन्तर्वार्ता प्रसारण भएपछि डायनाको पहिलो सार्वजनिक उपस्थितिलाई धेरैले त्यसको जवाफका रूपमा व्याख्या गरेका थिए ।

त्यतिबेला डायनाका स्टाइलिस्ट रहेकी एना हार्भीले प्रिन्सेस ‘एक करोड डलर बराबरको देखिन चाहन्थिन्’ भनेको बताइएको छ ।

कार्यक्रममा जानुअघि डायनाले अन्तिम समयमा आफ्नो पोसाक परिवर्तन गरेकी थिइन् । उनले सुरुमा रोजेको कम आकर्षक भ्यालेन्टिनो गाउनलाई छाडेर ग्रीक डिजाइनर क्रिस्टिना स्टाम्बोलियनले तयार पारेको काँध खुला रहने, असमान किनारा र सिफनको लामो पछाडिको भाग भएको कालो पोसाक लगाएकी थिइन् । उनले त्यससँग राजपरिवारको हार, कालो क्लच र कालो हिल लगाएकी थिइन् ।

‘रेभेन्ज ड्रेस’ लिलामीअघि विश्वका विभिन्न ठाउँमा प्रदर्शन गरिनेछ । सेप्टेम्बर १८ देखि २४ सम्म सोथेबीजको लन्डनस्थित शोरुममा राखिने उक्त पोसाक अक्टोबरको सुरुवातमा हङकङ, नोभेम्बरको सुरुवातमा जेनेभा हुँदै त्यसपछि न्यूयोर्क पुर्‍याइनेछ । न्यूयोर्कमै यसको लिलामी हुनेछ ।

यो पोसाक यसअघि डायनाले आफैंले लिलामीमा राखेकी थिइन् । क्यान्सर र एड्ससम्बन्धी परोपकारी संस्थाका लागि रकम जुटाउन उनले दर्जनौँ सामग्री बिक्री गरेकी थिइन् ।

त्यतिबेला ग्लास्गोकी बासिन्दा ब्रिज म्याकेन्जी र उनका पति ग्रेमले ३९ हजार ९८ पाउन्डमा उक्त पोसाक किनेका थिए ।

त्यतिबेला ‘द इन्डिपेन्डेन्ट’सँग कुरा गर्दै म्याकेन्जीले आफूले पोसाक लगाउन नभई खरिद गरेको बताएकी थिइन् । ‘मलाई यो मिल्दैन,’ उनले भनेकी थिइन् । यसको बिक्रीबाट प्राप्त रकम ‘चिल्ड्रेन फर्स्ट’ नामक परोपकारी संस्थालाई जाने भएकाले आफूहरूले पोसाक किनेको उनले बताएकी थिइन् ।

बिहीबार सोथेबीजले जारी गरेको विज्ञप्तिमा म्याकेन्जीले भनिन्, ‘म र मेरा दिवंगत पतिलाई यो पोसाक विशेष छ भन्ने थाहा थियो ।’

‘डायना आफ्नो जीवनकै सबैभन्दा खराब राततर्फ अघि बढिरहेकी थिइन्, तर उनलाई हेर्दा त्यसको कुनै संकेत पाइँदैनथ्यो । उनको फोटो खिचिने समयमै एउटा सामान्य ककटेल ड्रेस शक्तिशाली सन्देशमा परिणत भयो ।’

‘तीस वर्षपछि पनि संसारको जुनसुकै ठाउँमा यी शब्द उच्चारण गर्दा सबैले कुन पोसाकको कुरा भइरहेको हो भन्ने ठ्याक्कै बुझ्छन्,’ उनले भनिन् ।

आफ्ना पतिको निधनपछि पोसाक बिक्री गर्ने निर्णय गरेको म्याकेन्जीले बताइन् । उक्त पोसाक किन्नका लागि भएको बोली प्रक्रियालाई उनले आफ्ना पतिसँग बिताएको जीवनका ‘सबैभन्दा उत्कृष्ट दिनमध्ये एक’ भएको बताएकी छन् ।

सोथेबीजका अनुसार सन् १९९७ को लिलामीको दुर्लभ क्याटलगको एउटा प्रति पनि पोसाकसँगै बिक्री गरिनेछ । डायना र स्टाम्बोलियनले हस्ताक्षर गरेको उक्त क्याटलगमा पोसाक लिलामीमा राख्ने विचार राजकुमार विलियमको रहेको उल्लेख गरिएको छ ।

लिलामीबाट प्राप्त रकमको केही हिस्सा एनएचएस लोथियन च्यारिटीमार्फत रोयल एडिनबर्ग अस्पताललाई प्रदान गरिनेछ ।

डायना सेर्पेन्टाइन ग्यालरीको कार्यक्रममा पुगेको पुरानो जगुआर एक्सजे४० कार यसै वर्षको सुरुवातमा ६६ हजार २५० पाउन्डमा लिलामी भएको थियो ।

तर उक्त पोसाकले त्योभन्दा निकै बढी मूल्य पाउने अनुमान गरिएको छ । यद्यपि डायनाको पहिरनले उच्च मूल्यमा बिक्री भएको यो पहिलो घटना भने होइन ।

सन् २०२३ मा न्यूयोर्कमा सोथेबीजले गरेको लिलामीमा डायनाले लगाएको सेतो भेडाहरूको पंक्तिबीच एउटा कालो भेडाको चित्र भएको स्वेटर ९ लाख २० हजार पाउन्डमा बिक्री भएको थियो ।