काठमाडौं । यमनमा हुथी लडाकुहरूले बाब अल-मन्देब जलडमरूमध्यमा आफ्नो नियन्त्रण बढाउँदै लगेपछि पछिल्लो २४ घण्टामा करिब १ हजार ४ सय मानिस यमनबाट भागेर जिबुती पुगेका छन् ।
जिबुतीका अर्थ तथा वित्तमन्त्री इलियास मुसा डावालेहले शनिबार सामाजिक सञ्जाल एक्समार्फत २४ घण्टामै यमनबाट १ हजार ४ सय शरणार्थी जिबुती पुगेको जानकारी दिएका हुन् ।
यसअघि शुक्रबार उनले बाब अल-मन्देब जलडमरूमध्य पार गर्ने क्रममा डुंगाको इन्धन सकिएपछि समुद्रबाट उद्धार गरिएका महिला र बालबालिकासहित ५०० शरणार्थी तटीय सहर ओबक पुगेको बताएका थिए ।
यमनी तटबाट समुद्र पार करिब २० किलोमिटर मात्रै दूरीमा रहेको ओबक युद्धग्रस्त यमनबाट भागेर आउने मानिसका लागि केही वर्षयता प्रमुख गन्तव्य बन्दै आएको छ । बाब अल-मन्देब जलडमरूमध्य अफ्रिकाको हर्न क्षेत्रबाट खाडी मुलुकतर्फ जाने आप्रवासीहरूले पनि प्रयोग गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) की मानवीय प्रतिक्रिया संयोजक सफिया इब्राहिमले महिला तथा बालबालिकाजस्ता जोखिममा रहेका समूह ओबकको तटमा पुगेको र आगामी दिनमा थप मानिस आउने सम्भावना रहेको बताएकी छन् ।
आईओएमका अनुसार जुलाईयता यमनमा भएको लडाइँका कारण ७६ हजार मानिस विस्थापित भएका छन् । पछिल्लो समय द्वन्द्व पुनः चर्किएपछि विस्थापित हुनेको संख्या चार गुणाले बढेको संगठनले जनाएको छ ।
जिबुतीमा दशौं हजार शरणार्थी तथा शरण खोज्ने मानिसहरू बस्दै आएका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकायको मार्च २०२६ को तथ्यांकअनुसार जिबुतीमा ३६ हजारभन्दा बढी शरणार्थी दर्ता भएका छन् । उनीहरूमध्ये अधिकांश सोमालिया, इथियोपिया र यमनका नागरिक छन् ।
हुथीहरूले बिहीबार लाल सागरस्थित मोखा बन्दरगाह सहर कब्जामा लिएपछि बाब अल-मन्देब जलडमरूमध्य आसपासको तटीय क्षेत्र र टापुहरूमा समेत आफ्नो नियन्त्रण विस्तार गरेका छन् । हुथीहरूको तीव्र सैन्य कारबाहीका कारण हजारौं परिवार विस्थापित भएका छन् । मक्बानाह, जबल हबासी र अल-माफरजस्ता जिल्लाका कैयौं गाउँ नै खाली भएको बताइएको छ ।

प्रतिक्रिया