काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय मामिलामा कानुनी शासनको रक्षा गर्न तथा कृत्रिम बुद्धिमत्ता, व्यापार, डिजिटल उद्योग, उत्पादन र विज्ञान–प्रविधिलगायतका क्षेत्रमा सहकार्य सुदृढ गर्न ग्लोबल साउथका देशहरूलाई संयुक्त रूपमा अघि बढ्न आह्वान गरेका छन् ।
आइतबार १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो सत्रलाई सम्बोधन गर्दै सीले चीनले आफ्नो अर्थतन्त्रलाई थप खुला बनाउँदै जाने र आफ्नो विकासका अवसर अन्य देशसँग बाँड्ने बताएका हुन् ।
सीले अन्तर्राष्ट्रिय नियम सबै देशको सहभागितामा निर्माण हुनुपर्ने बताउँदै ‘शक्तिशालीले जे गर्छ, त्यही सही हुन्छ’ भन्ने तर्कलाई अस्वीकार गरे । उनले सार्वभौम समानता, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र विवादको शान्तिपूर्ण समाधानका सिद्धान्तलाई कायम राख्नुपर्ने बताए । अन्तर्राष्ट्रिय कानुन र नियम सबै देशमा दोहोरो मापदण्डबिना समान रूपमा लागू हुनुपर्ने उनको भनाइ थियो ।
‘न्याय र निष्पक्षता सबैको सार्वभौमिक आकांक्षा हो र अन्तर्राष्ट्रिय नियम सबै देशले मिलेर बनाउनुपर्छ । “शक्तिशालीले जे गर्छ, त्यही सही हुन्छ” भन्ने तर्क मान्य हुँदैन र यसलाई धेरैअघि नै त्याग्नुपर्थ्यो,’ सीले अमेरिकातर्फ संकेत गर्दै भने ।
ग्लोबल साउथका देशहरूले जनकेन्द्रित विकासको अवधारणाप्रति प्रतिबद्ध रहँदै सन् २०३० को दिगो विकास लक्ष्य हासिल गर्न काम गर्नुपर्ने उनले बताए ।
चीनले पाँच वर्षअघि ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ सुरु गरेयता अन्य देशसँगको सहकार्यमा २ हजारभन्दा बढी परियोजना कार्यान्वयन गरिसकेको र २ लाखभन्दा बढी पेशेवरलाई तालिम दिएको सीले जानकारी दिए । उनका अनुसार यसबाट १२० भन्दा बढी देशका नागरिक लाभान्वित भएका छन् ।
चीनले कूटनीतिक सम्बन्ध भएका सबै ५३ अफ्रिकी देशलाई शून्य भन्सारको सुविधा दिएको भन्दै सीले आगामी दिनमा पनि एकपक्षीय तथा स्वतन्त्र रूपमा आफ्नो अर्थतन्त्र थप खुला बनाउँदै जाने बताए ।
ब्रिक्स सहकार्यका लागि पाँच पहल
सीले ब्रिक्स सहकार्यलाई थप सुदृढ गर्न कृत्रिम बुद्धिमत्ता, व्यापार तथा लगानी, डिजिटल उद्योग, स्मार्ट उत्पादन र विज्ञान–प्रविधिका प्रतिभा विकासमा केन्द्रित पाँच पहल प्रस्ताव गरेका छन् ।
खुला स्रोत र समावेशी एआई पहलअन्तर्गत चीनले ब्रिक्स एआई खुला स्रोत समुदाय स्थापना गर्न, ठूला भाषा मोडेलको विकास तथा प्रयोगमा सहकार्य गर्न र एआईसम्बन्धी विशेष तालिम तथा गोष्ठी सञ्चालन गर्न सहयोग गर्ने प्रस्ताव गरेको छ ।
व्यापार तथा लगानी सहजीकरणका लागि सीले ब्रिक्स विशेष आर्थिक क्षेत्र साझेदारीको प्रस्ताव गरे । यसअन्तर्गत सदस्य राष्ट्रहरूले साझा डिजिटल प्रणाली निर्माण गरी नीतिगत समन्वय गर्ने र खुला विकासका लागि नयाँ आधार तयार गर्ने उनको प्रस्ताव छ । चीनले अर्को वर्ष ब्रिक्स व्यापार सेवासम्बन्धी मञ्च आयोजना गर्ने पनि उनले बताए ।
डिजिटल उद्योग सहकार्यअन्तर्गत ब्रिक्स डिजिटल इकोसिस्टम क्लाउड प्लेटफर्म निर्माण, डिजिटल सीप विकास, प्रविधि आदानप्रदान र औद्योगिक समन्वय गर्ने प्रस्ताव गरिएको छ ।
स्मार्ट उत्पादनको पहलअन्तर्गत चीनले ब्रिक्सका अन्य देशलाई स्मार्ट कारखाना निर्माण तथा उत्पादन क्षेत्रको रूपान्तरण र स्तरोन्नतिका लागि आवश्यक मापदण्ड तथा नियम विकासमा सहयोग गर्ने प्रस्ताव गरेको छ ।
सीले इन्जिनियर विकासका लागि ब्रिक्स इन्जिनियर तालिम गठबन्धन गठन गर्ने प्रस्तावसमेत गरेका छन् । यसमार्फत इन्जिनियर उत्पादन तथा दक्षताको मापदण्डलाई पारस्परिक रूपमा मान्यता दिने योजना छ । चीनले विज्ञान तथा प्रविधिमा केन्द्रित ब्रिक्स युवा आदानप्रदान कार्यक्रम सुरु गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया