जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी

जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

“जोखिममा रहेका हिमताल ‘ब्लास्टिङ’ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले कटाएर जोखिम कम गर्नुपर्छ, आवश्यक तयारी सकिएपछि निर्णय लिनेछौँ,’ उनले भने।

जोखिम घटाउने सम्बन्धमा विज्ञहरुसँग परामर्श लिइरहेको जानकारी दिँदै ऊर्जामन्त्रीले जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिइने बताए। मन्त्री श्रेष्ठकाअनुसार ग्रीन क्लाइमेट फण्ड (जिसिएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र राष्ट्र सङघीय विकास कार्यक्रम (युएनडिपी)को संयुक्त अध्ययनअनुसार नेपालमा २१ हिमताल जोखिमयुक्त छन् । कोशी र गण्डकी क्षेत्रमा चारवटा अतिउच्च जोखिमयुक्त हिमताल छन्।