बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो : प्रधानमन्त्री शाह

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि हो : प्रधानमन्त्री शाह


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद् भविष्यका लागि भएको बताएका छन्।

राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उत्कृष्ट भविष्यको शुभकामना व्यक्त गरेका छन्।

यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदै छ। प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्र राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने बताएका छन्।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गरी बालबालिकाका अधिकार संरक्षणप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले संविधानको धारा ३९, राष्ट्रिय बालबालिका नीति, २०८० र बालबालिकासम्बन्धी ऐन, २०७५ ले ती अधिकारलाई मौलिक तथा कानुनी अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन्।

“अबको हाम्रो मुख्य प्राथमिकता यी संवैधानिक तथा कानुनी अधिकारलाई प्रत्येक बालबालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु हो,” प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन्।

यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको उनले बताएका छन्। सङ्घले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधार सुदृढ गर्ने, प्रदेशले समन्वय र सेवाको विस्तार गर्ने तथा स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्नुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ।

बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति पनि प्रधानमन्त्री शाहले सम्मान व्यक्त गरेका छन्।