काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढाउने निर्णय गरेको छ। सोमबार पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बसेको संस्थापन इतर समूहको बैठकले सानेपाबाट संस्थापन पक्षले गरेको निर्णयअनुसार तय गरिएको महाधिवेशन प्रक्रियामा सहभागी हुन सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको एक नेताले जानकारी दिए। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई १५औँ महाधिवेशनमा पनि सोही हैसियतमा सहभागी गराउने निर्णय गरेको थियो। तर, संस्थापन इतर समूहले उक्त निर्णयप्रति असहमति जनाउँदै नेता उमाकान्त चौधरीले यसअघि प्रस्तुत गरेको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकमा सहभागी एक नेताका अनुसार आफूहरू कुनै पद प्राप्तिका लागि नभई पार्टीलाई एकताबद्ध र जोगाउने अभियानमा अघि बढेकाले आफ्नो प्रस्तावअनुसार महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ। बैठकपछि कांग्रेस नेता डा। प्रकाशशरण महतले संस्थापन पक्षको पछिल्लो निर्णयबारे अनौपचारिक छलफल भएको बताए। उनले सोमबार नै अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर संस्थापन इतर समूहको औपचारिक धारणा सार्वजनिक गरिने जानकारी दिए ।
यसअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सहभागी हुन चाहेमा केन्द्रीय सदस्यकै हैसियतमा स्वागत गरी जिम्मेवारी दिने निर्णय गरेको थियो। यही निर्णयलाई लिएर कांग्रेसभित्र संस्थापन र इतर समूहबीच महाधिवेशन प्रक्रियालाई लिएर विवाद थप चर्किएको छ।

प्रतिक्रिया