महानिर्देशकको कन्चटमा पेस्तोल राखेर रेडकर्नर नोटिस निकालेकोमा डा यादवले मागे सरकारको जवाफ (भिडियो )

महानिर्देशकको कन्चटमा पेस्तोल राखेर रेडकर्नर नोटिस निकालेकोमा डा यादवले मागे सरकारको जवाफ (भिडियो )


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई मध्यराति पेस्तोल भिराएर रेडकर्नर नोटिस जारी गर्न लगाइएको आरोपबारे सरकारसँग जवाफ माग गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद चन्द्रमोहन यादवले उक्त विषय गम्भीर रहेको भन्दै सरकारको स्पष्ट धारणा माग गरेका हुन्।
यसअघि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले पनि सरकारले राति १ बजे सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई पेस्तोल देखाएर रेडकर्नर नोटिस जारी गर्न दबाब दिएको आरोप लगाएका थिए। गत बिहीबारको प्रतिनिधिसभा बैठकमा सिंहले भनेका थिए, ‘म यहाँ धेरै घटना उल्लेख गर्न चाहन्नँ कि सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कसैको कन्चटमा राति १ बजे पेस्तोल भिराइन्छ र भनिन्छ कि यसलाई २ घण्टाभित्र रेड कर्नर नोटिस जारी गर।’
मंगलबारको बैठकमा सांसद यादवले सरकार र सत्तारुढ दलका सांसदहरूले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिप्रति समेत आपत्ति जनाए। सांसदहरूले प्रश्न उठाउँदा मन्त्रीहरूले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै उनले आलोचना गरे।
‘म सत्तारुढ दलका माननीयज्यूहरूले सार्वजनिक रूपमा दिएको वक्तव्यबारे ध्यानाकर्षण गराउन चाहन्छु। कतै कन्चटमै पेस्तोल राखेर थर्काएको कुरा आएको छ। कतै प्रश्न गर्दा धम्की आएको कुरा पनि सुन्नमा आएको छ,’ यादवले भने। उनले यस्तो व्यवहार लोकतान्त्रिक मूल्यमान्यताविपरीत भएको बताए। ‘यो अत्यन्तै अलोकतान्त्रिक कुरा हो। यसमा सरकारको के जवाफ छरु हामी सुन्न चाहन्छौँ,’ उनले भने।

लोकतन्त्रको मूल मूल्य नै भयरहित समाज निर्माण गर्नु भएको उल्लेख गर्दै यादवले पेस्तोल देखाएर सरकारी अधिकारीलाई काम गर्न दबाब दिएको भनिएको विषय सामान्य रूपमा लिन नसकिने बताए। उनले घटनाबारे सरकारले संसद्मा स्पष्ट जवाफ दिनुपर्ने माग गरे।