काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कानिकट कम्तीमा ३१ जना निवर्तमान केन्द्रीय सदस्य १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने गाउँ–नगर वडा अधिवेशनमा सहभागी हुने भएका छन्। सोमबार खड्का निवास गोल्फुटारमा भएको छलफलपछि अधिकांश नेताहरू अधिवेशन प्रक्रियामा सहभागी हुने निष्कर्षमा पुगेका हुन्।
संस्थापन पक्षसँग राखिएका अधिकांश माग सम्बोधन भएको भन्दै उनीहरू अधिवेशनमा सहभागी हुन तयार भएका हुन्। तर, खड्का भने तत्काल कुनै पनि अधिवेशनमा सहभागी नहुने पक्षमा छन्।
विशेष महाधिवेशनविरुद्ध आफूले सर्वोच्च अदालतमा पुनरवलोकनको मागसहित मुद्दा दिएको र त्यसमा निस्सा जारी भइसकेकाले मुद्दा कायमै राखेर अधिवेशनमा सहभागी हुन नमिल्ने उनको धारणा छ।
खड्कानिकट एक नेताका अनुसार खड्काले कांग्रेस विभाजनतर्फ उन्मुख भए पनि एकताको सम्भावना अझै रहेको बताउँदै आएका छन्। निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले आफूहरू वडा अधिवेशनमा सहभागी हुने बताए। खड्कानिकट नेताहरूले पार्टी एकताका लागि दुवै पक्षलाई आग्रहसमेत गरेका छन्।
निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सबै नेताहरू एक ठाउँमा भएर महाधिवेशन गराउने प्रयास भइरहेको बताइन्। उनका अनुसार शीर्ष नेताहरूसँग थप छलफल भइरहेको छ। यसैबीच, शेरबहादुर देउवा पक्षले छुट्टै कार्यतालिकाअनुसार अधिवेशन अघि बढाउने तयारी गरेको छ भने कांग्रेसभित्र समानान्तर गतिविधि जारी छ।

प्रतिक्रिया