काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद अन्त्य गर्दै आगामी मंसिर २१ देखि २३ गतेसम्म हुने १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
भोटेकोशी बाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी अपिलमा देउवाले प्राकृतिक विपत्तिको सामना गर्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।
पार्टीभित्र देखिएको विवादबारे उनले विधि, विधान र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशन गरिएको दाबी गरेका छन्। विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम फैसला नआउँदै नयाँ महाधिवेशन प्रक्रिया अघि बढाउनु कानुनी र राजनीतिक रूपमा उचित नभएको उनको भनाइ छ।
देउवाले विशेष महाधिवेशन पक्षधरले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
‘मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। तर नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो,’ देउवाले भनेका छन्।
उनले पार्टीलाई विभाजन र कमजोरीतर्फ लैजाने कुनै पनि गतिविधिमा आफू मुकदर्शक भएर नबस्ने चेतावनीसमेत दिएका छन्।देउवाले कांग्रेसभित्रको मतभेद अन्त्य गर्दै एकता, सहमति र सहकार्यका आधारमा मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशन सम्पन्न गर्न सबै पक्षलाई अपिल गरेका छन्।

प्रतिक्रिया