मकवानपुरमा यात्रुवाहक गाडी दुर्घटना, चार जनाको मृत्यु

मकवानपुरमा यात्रुवाहक गाडी दुर्घटना, चार जनाको मृत्यु


मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–००१ ज ०७२० नम्बरको गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा दुर्घटनामा परेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार गाडी सडकबाट करिब एक हजार मिटर तल खसेको थियो । दुर्घटनामा चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।

गाडीमा चालकसहित आठ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा घाइते चार जनामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलालाई हेटौँडा ल्याइएको छ ।

दुर्घटनापछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जना प्रहरी उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीसमेत उद्धारमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत्यु भएकाहरूको सनाखत हुन बाँकी रहेको डीएसपी काफ्लेले बताए ।