एजेन्सी । अमेरिकाको लस एन्जलसमा समाचार संकलनका क्रममा एउटा समाचार संस्थाको हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ।
दुर्घटनामा १ जना गम्भीर घाइते भएका छन्।लस एन्जलसको च्याट्सवर्थ क्षेत्रमा भएको भीषण बस दुर्घटनाको दृश्य छायांकन र समाचार संकलन गरिरहेका बेला हेलिकप्टर खसेको हो।
खस्ने बित्तिकै हेलिकप्टरमा भीषण आगलागी भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। लस एन्जलस अग्नि विभागका अनुसार घटनास्थलमा चार जनाको स्वास्थ्य परीक्षण गरिएकोमा तीन जनालाई मृत घोषित गरिएको छ।
घाइते एक जनालाई तत्काल उपचारका लागि नजिकैको अस्पताल पुर्याइएको छ। मृतकमध्ये एक जना जमिनमा रहेका पैदलयात्री रहेको बताइएको छ।
दुर्घटनाग्रस्त हेलिकप्टर स्थानीय टेलिभिजन च्यानलको रहेको पुष्टि भए पनि हेलिकप्टरमा सवार चालक र पत्रकारहरूको विवरण भने सार्वजनिक गरिएको छैन।
दुर्घटनाको यकिन कारण अझै खुल्न सकेको छैन। हवाई सुरक्षा हेर्ने अमेरिकी निकायहरूले घटनाको छानबिन सुरु गरेका छन्।

प्रतिक्रिया