भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत–पुनर्निर्माणमा सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा राहत–पुनर्निर्माणमा सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता


काठमाडौं । रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिपछि राहत, पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न अमेरिकी सरकार तत्पर रहेको नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले बताएकी छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको शिष्टाचार भेटमा बोल्डिनले विपद्को यस कठिन घडीमा अमेरिकी सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताएकी हुन्।
भेटमा उनले रसुवा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरिन्। राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तयार रहेको उनले जानकारी गराइन्। प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले जनाएको ऐक्यबद्धता तथा सहयोगका लागि आभार व्यक्त गरे।

उनले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताउँदै जलवायु परिवर्तनका कारण यस्तो विपद्को सामना गर्नुपरेको उल्लेख गरे। जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयास थप सुदृढ गर्नुपर्नेमा उनले जोड दिए। भेटमा नेपालको पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासमार्फत नेपाल–अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने बताए।