एकता नभए दुवै महाधिवेशनमा जान्नँ : डा शेखर कोइराला

एकता नभए दुवै महाधिवेशनमा जान्नँ : डा शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टी एकता नभई छुट्टाछुट्टै हुने १५औँ महाधिवेशनमा आफू सहभागी नहुने घोषणा गरेका छन्।   बुधबार बिहान विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले छुट्टाछुट्टै महाधिवेशनले पार्टी विभाजनको बाटो खोल्ने भन्दै आफू दुवै महाधिवेशनमा सहभागी नहुने स्पष्ट पारे।
कांग्रेसको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षले महाधिवेशनका कार्यक्रम रोकेर एकताको महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो। उनले कांग्रेसका कार्यकर्तालाई समेत छुट्टाछुट्टै हुने कुनै पनि महाधिवेशनमा सहभागी नहुन आग्रह गरे।
कोइरालाले पार्टी विभाजन रोक्न पछिल्लो पाँच महिनादेखि विशेष महाधिवेशन पक्षधर गगन थापा समूह र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग छलफल गर्दै आएको बताए। बुधबार नै उनले देउवा पक्षबाट गठित १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालासँग भेट गरेका छन्। भेटमा उनले एकताको महाधिवेशनका लागि दुवै पक्षले लचकता अपनाउनुपर्ने बताएका थिए।
लोकतन्त्रमाथि चुनौती देखिएको भन्दै कोइरालाले पार्टीका नेताहरूलाई दम्भ त्यागेर गम्भीर हुन र कांग्रेसलाई एकताबद्ध बनाउनेतर्फ लाग्न आग्रह गरे। उनले आफू निकट नेताहरूलाई पनि दुवै पक्षलाई एकै ठाउँमा ल्याएर एकताको महाधिवेशन गराउने पहल गर्न निर्देशन दिएका छन्।