कांग्रेस दाइभाइवाला पार्टी हो, ठेस लाग्दैमा व्यक्तिगत इगो लिनु हुँदैन : थापा

कांग्रेस दाइभाइवाला पार्टी हो, ठेस लाग्दैमा व्यक्तिगत इगो लिनु हुँदैन : थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र हुने तिखा टिप्पणी र आलोचनालाई व्यक्तिगत रूपमा लिन नहुने बताएका छन्। बिहीबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेस परिवारजस्तै भएकाले सँगै बस्दा कहिलेकाहीँ एकअर्कालाई ठेस लाग्नु स्वाभाविक भएको बताए।

‘हाम्रो पार्टी दाइभाइवाला पार्टी हो। हाम्रो पार्टी परिवार हो। एउटै परिवार हो। परिवारमा सँगै बस्दा कहिलेकाहीँ ठेस लाग्छ,’ थापाले भने। उनले आफूले पनि कहिलेकाहीँ नेताहरूका बारेमा तिखो टिप्पणी गरेको र आफूविरुद्ध पनि त्यस्तै टिप्पणी हुने गरेको उल्लेख गर्दै त्यसलाई व्यक्तिगत रूपमा नलिएको बताए। ‘मैले कहिलेकाहीँ बोल्दै गर्दा कसैको बारेमा तिखो टिप्पणी गरेको होला, कसैले मेरो बारेमा तिखो टिप्पणी गरेको होला,’ थापाले भने, ‘हामी कहिले पनि त्यो कुरालाई व्यक्तिगत रूपमा लिने गरेको छैन।’ थापाले पार्टीभित्र अब सौहार्दपूर्ण वातावरण बनाउनुपर्नेमा जोड दिए।

आफूबाट पनि कहिलेकाहीँ तिखा टिप्पणी भएको हुन सक्ने स्वीकार गर्दै उनले त्यसलाई सामान्य रूपमा लिएर छलफलमार्फत अघि बढ्नुपर्ने बताए। ‘मबाट पनि भयो होलान्, अरू साथीहरूबाट पनि भए होलान्। यी सामान्य कुरा हुन्। यसलाई सौहार्द बनाउँदै छलफल गर्दै लाने कुरा हो,’ उनले भने। कांग्रेसको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवादका बीच केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी छ। बैठकमा पूर्वसभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला पक्षका केही नेतासमेत सहभागी छन्।