काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ अघि बढ्ने बताएका छन्।
संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ओलीले केन्द्रीय कमिटीको बैठकबाट पार्टीको एकता र आगामी कार्यदिशाबारे स्पष्ट संकल्पसहित बाहिरिने बताए।
पछिल्लो समय सञ्चारमाध्यममा एमाले फुट्ने, नयाँ अध्यक्ष र महासचिव बन्ने तथा पार्टी विभाजनका लागि कागज तयार भइरहेको जस्ता समाचार आएको उल्लेख गर्दै ओलीले त्यस्ता प्रचार सफल नहुने दाबी गरे।
उनले भने, ‘फलानो अध्यक्ष हुने अरे, फलानो महासचिव हुने अरे। भित्रभित्र पार्टी फुटाउने एउटा कागज तयार हुँदैछ अरे। कति खेती गरे? म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर।’
विरोधीहरूले निरन्तर प्रहार गरे पनि आफू अझै राजनीतिक मैदानमा दृढताका साथ उभिएको ओलीले बताए। महाभारतका भीष्म पितामहको प्रसंग उल्लेख गर्दै उनले आफू ‘शरशय्या’मा नढलेको र अझै मैदानमा रहेको बताए।
७४ वर्षको उमेरमा अमरसिंह थापा युद्धको मैदानमा गएको स्मरण गर्दै ओलीले आफू पनि यही उमेरमा ‘कलम लिएर युद्धको मैदानमा’ रहेको बताए।
‘मैले आफ्नो राजनीतिक जीवनमा एउटा महाभारत होइन, १० वटा महाभारत लडेर आएको छु। यहाँ आइपुगेको यत्तिकै होइन,’ उनले भने।
ओलीले एमालेका नेता–कार्यकर्तालाई जनतामाझ गएर सचेतना फैलाउन र पार्टीको अभियान अघि बढाउन आग्रह गरे। उनले देशलाई अराजकताबाट जोगाउँदै संविधान, लोकतान्त्रिक प्रणाली र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए।
‘यो देश हाम्रो हो, बिग्रिन नदिऔँ। सच्याऔँ। नेपाली जनताले सच्याउने हो। त्यसको अगुवाइ नेकपा एमालेले गर्छ,’ ओलीले भने, ‘अराजकताबाट होइन, स्पष्ट बाटोबाट मात्रै गन्तव्यमा पुग्न सकिन्छ।’

प्रतिक्रिया