विकास सडक र पुल मात्रै होइन, मानिसको भविष्यको सुरक्षा पनि हो : राष्ट्रपति पौडेल

विकास सडक र पुल मात्रै होइन, मानिसको भविष्यको सुरक्षा पनि हो : राष्ट्रपति पौडेल


  •  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई सडक, भवन र पुल निर्माणमा मात्र सीमित नगरी मानिसको भविष्य र सुरक्षासँग जोड्नुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा आफ्नो विचार व्यक्त गर्दै राष्ट्रपति पौडेलले विकासका ढाँचा मानवीय र प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिए। ‘विकास केवल सडक, भवन र पुल होइन । मानिसको भविष्यको सुरक्षा पनि हो,’ उनले भने।

देश प्राकृतिक विपद्को गहिरो पीडामा रहेका बेला संविधान दिवस मनाउनुपरेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

उनले विपद्को कठिन परिस्थिति र पीडाका बीच पनि संविधान दिवस संविधानको उत्सव मनाउने विशेष अवसर भएको बताए।

राष्ट्रपति पौडेलले संविधानलाई कागजमा लेखिएको दस्तावेज मात्र नभई सम्पूर्ण नागरिकका आशा र सपना समेटिएको महत्वपूर्ण दस्तावेजका रूपमा चित्रण गरे। एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्पमा संविधानले दिएको संघीयता र प्रदेश संरचना मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

संघीयताको प्रभावकारी कार्यान्वयनमार्फत नागरिकका सपना पूरा गर्नुपर्नेमा जोड दिँदै उनले प्राकृतिक प्रकोपबाट जोगिन र दिगो विकास हासिल गर्न आगामी दिनमा प्रकृतिमैत्री नीति तथा भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।