काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने शिखर वार्ताको एउटा स्पष्ट उद्देश्य छ ।
चीनले अमेरिकाले महाशक्तिका रूपमा आफ्नो उदयलाई रोक्न खोजिरहेको विश्वास गर्छ । त्यसैले व्यापार, प्रविधि र ताइवानजस्ता विषयमा विशेषगरी अमेरिकाले आफूलाई बाटो छेक्न नहुने चीनको चाहना छ ।
तर यसपटक ट्रम्पले सीलाई भव्य स्वागत गरे पनि चिनियाँ नेताले आफूले चाहेका सबै कुरा हासिल गर्न सकेनन् ।
दुवै देशबीच जारी व्यापार युद्धलाई थप चर्किन नदिन एकअर्कामाथि लगाइएका अतिरिक्त कर रोक्ने सहमति केही समयका लागि लम्ब्याइएको छ । तर यो सम्झौता नोभेम्बरबाट जनवरीसम्म केही महिनाका लागि मात्रै लम्बिएको छ ।
बेइजिङले कम्तीमा एक वर्षका लागि सम्झौता लम्ब्याउन चाहेको थियो, ताकि ट्रम्पको राष्ट्रपतीय कार्यकालको बाँकी अवधि सहज रूपमा पार गर्न सकियोस् ।
यसको अर्थ भन्सार, दुर्लभ खनिजको आपूर्तिमा चीनको प्रभुत्व र उन्नत अमेरिकी चिप्समा चीनको पहुँचजस्ता प्रमुख विवाद फेरि अर्को चरणको वार्तामा धकेलिएका छन् ।
यसबाट अमेरिकाले दीर्घकालीन छुट दिनुअघि चीनले आफ्नोतर्फबाट भएका प्रतिबद्धता अझ धेरै पूरा गरोस् भन्ने चाहेको देखिन्छ ।
सीका लागि असहज वास्तविकता के हो भने चीनको घरेलु अर्थतन्त्र समस्यामा छ । चीनले विश्वभर कीर्तिमानी मात्रामा सामान बिक्री गरिरहेको भए पनि घरेलु उपभोक्ताले खर्च गर्न हिच्किचाइरहेका छन् । युवामा बेरोजगारी उच्च नै छ भने घरजग्गाको मूल्य पनि घटेको छ । चीनमा करिब ८० प्रतिशत मानिस आफ्नै घरका मालिक छन् ।
आर्थिक वृद्धिलाई व्यापारले धानिरहेको अवस्थामा चीनका लागि विदेशी बजारमा पहुँच झनै महत्वपूर्ण बनेको छ । गत वर्ष अमेरिकाले लगाएको जस्तो अर्थतन्त्रलाई गम्भीर असर पार्ने भन्सारबाट आफ्ना निर्यात जोगाउनु सीका लागि आवश्यक छ ।
ताइवानमा चीनको स्पष्ट अडान
ताइवानका विषयमा सीले फेरि पनि अमेरिकाले ताइवानलाई हतियार बिक्री गर्नु चीनका लागि ‘रेड लाइन’ अर्थात् अस्वीकार्य विषय भएको स्पष्ट पारे ।
अमेरिकी कानुनअनुसार स्वशासित ताइवानलाई आफ्नो रक्षा गर्न आवश्यक साधन उपलब्ध गराउन अमेरिका बाध्य छ ।
मे महिनामा सीले ट्रम्पलाई यो विषय गलत ढंगले व्यवस्थापन गर्दा दुई देश ‘ठोक्किन वा द्वन्द्वमै प्रवेश गर्न’ सक्ने चेतावनी दिएका थिए ।
त्यसपछि ट्रम्पले ताइवानका लागि १४ अर्ब डलरको हतियार प्याकेज स्वीकृत गर्ने प्रक्रिया रोकेका थिए । उनले त्यसलाई चीनसँगको वार्तामा ‘निकै राम्रो वार्ताको कार्ड’ भनेका थिए ।
सीले वार्ताका क्रममा यही अवस्थालाई आफ्नो पक्षमा प्रयोग गर्दै ताइवानप्रतिको अमेरिकी समर्थन सीमित गर्दा द्वन्द्वको जोखिम कम हुने तर्क गरेको हुन सक्ने अनुमान गरिएको छ ।
बिहीबार उनले अमेरिकाले ताइवानको स्वतन्त्रताको विरोध गर्ने ‘सही अडान’मा कायम रहने आशा व्यक्त गरे ।
तर ताइवानलाई अमेरिकी समर्थन निरन्तर राख्नुपर्ने विषयमा अमेरिकी राजनीतिभित्र दुवै दलबाट दबाब बढिरहेका बेला ट्रम्पले सीको यो भनाइबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
एआईमा पनि छलफल, तर ठोस सहमति अस्पष्ट
दुवै नेताले कृत्रिम बुद्धिमत्ता (एआई) बारे पनि छलफल गरे । तर एआईको सुरक्षासम्बन्धी कुनै ठोस उपायमा सहमति भयो कि भएन भन्ने स्पष्ट छैन ।
एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले एआई विकासलाई सुरक्षित बनाउन यसको गति कम गर्नुपर्ने भन्दै लेख प्रकाशित गरेपछि दुई नेताबीचको वार्तामा सबैको ध्यान एआईसम्बन्धी कुनै ठोस निर्णय हुन्छ कि हुँदैन भन्नेमा थियो ।
एन्थ्रोपिककै एक वरिष्ठ सुरक्षा अनुसन्धानकर्ताले एआईका कारण मानव जाति नै विलुप्त हुने सम्भावना १० प्रतिशतभन्दा बढी रहेको चेतावनी दिएका थिए ।
तर सीले एआई ‘सधैँ मानव नियन्त्रणमा हुनुपर्ने’ महत्त्वबारे कुरा गरेबाहेक थप ठोस कुरा बाहिर आएन ।
ट्रम्पले भने एआईका कारण मानव जाति नै विलुप्त हुने डरलाई हालै ‘होक्स’ अर्थात् झुटो हल्ला भन्दै खारेज गरेका छन् ।
अनि पाण्डा पनि
यसबीच पाण्डालाई पनि बिर्सन मिल्दैन ।
एटलान्टाका लागि पिङ पिङ र फु श्वाङ नामका दुई पाण्डा पठाउने घोषणा अप्रिलमै गरिएको थियो । अब सीले ती पाण्डा केही दिनमै अमेरिकाको एटलान्टा पुग्ने घोषणा गरेका छन् । यससँगै चीनको ‘पाण्डा कूटनीति’ फेरि सुरु हुँदैछ ।
शुक्रबार दुवै नेताले चिया पिउने र राष्ट्रिय अभिलेखालयको भ्रमण गर्ने तयारी गरेका छन् । त्यसक्रममा थप घोषणाहरू पनि हुन सक्छन् ।
तर अहिलेसम्म शिखर वार्ताबाट बेइजिङले पाएको सबैभन्दा ठूलो उपलब्धि सायद यसको दृश्यात्मक प्रभाव हो ।
भव्य स्वागत, विमानस्थलमै ट्रम्पले व्यक्तिगत रूपमा गरेको अभिवादन र तिलले लेपन गरिएको समुद्री बास तथा ब्रेज्ड बेबी बक चोयजस्ता परिकारसहितको राजकीय भोजलाई चीनमा निकै सकारात्मक रूपमा हेरिएको छ ।
यसले चीनभित्र ट्रम्पसँग सीलाई समान हैसियतका नेताका रूपमा प्रस्तुत गर्ने उनको छविलाई थप बलियो बनाउन सहयोग गरेको छ ।
चिनियाँ सामाजिक सञ्जालमा दुवै नेताको तुलना गर्ने विभिन्न मीमहरू व्यापक रूपमा फैलिएका छन् । एउटा चर्चित तस्बिरमा ट्रम्पको अनुहार तनावपूर्ण देखाइएको छ भने उनको माथिबाट बमवर्षक विमान उडिरहेका छन् । त्यसको विपरीत सीलाई भने कुनै प्रतिक्रिया नदिई शान्त बसेको देखाइएको छ ।
सीले विश्वकै सबैभन्दा अप्रत्याशित नेतामध्ये एक मानिने ट्रम्पसँग सम्बन्ध व्यवस्थापन गर्ने बाटो खोजेका छन् ।
तर ट्रम्पले ‘वास्तवमै महान् मित्रता’को कुरा गरिरहँदा चीनका नेताको ध्यान त्योभन्दा ठूलो विषयमा छ—अमेरिकासँगै चीनलाई पनि महाशक्तिका रूपमा स्थापित गराउनु ।
पाण्डा, भव्य समारोह र न्यानो शब्दहरूले दुई देशबीचको सम्बन्धलाई सहज बनाउन सहयोग गर्न सक्छन् । तर यो भव्य दृश्यको पछाडि विश्वका दुई शक्तिशाली देशबीचको प्रतिस्पर्धा भने उत्तिकै तीव्र छ ।

प्रतिक्रिया