काठमाडौं । लगातारको वर्षासँगै सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न जिल्लाका लागि सवारी सञ्चालनसम्बन्धी सावधानी अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको नक्साअनुसार देशका विभिन्न जिल्लालाई जोखिमको अवस्थाअनुसार रातिको समयमा सवारी बन्द गर्ने, दिउँसो अवस्था हेरेर निर्णय गर्ने तथा पूर्ण रूपमा सवारी बन्द गर्ने गरी वर्गीकरण गरिएको छ ।
नक्सामा रातो रंगले देखाइएका जिल्लामा पूर्ण रूपमा सवारी साधन बन्द गर्न भनिएको छ । यस समूहमा सुदूरपश्चिम, कर्णाली तथा गण्डकी र लुम्बिनीका पहाडी जिल्लाको ठूलो हिस्सा परेको छ ।
त्यस्तै सुन्तला रंगले देखाइएका जिल्लामा रातिको समयमा सवारी सञ्चालन बन्द गर्न र दिउँसोको समयमा सडक तथा मौसमको अवस्था हेरेर निर्णय लिन भनिएको छ । यस समूहमा सुदूरपश्चिमका केही जिल्ला, कर्णालीका केही जिल्ला हुँदै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी जिल्लासमेत छन् ।
पहेंलो रंगले देखाइएका जिल्लामा भने सतर्क रहन आग्रह गरिएको छ । तराईका अधिकांश जिल्ला तथा कोशी प्रदेशका धेरैजसो जिल्लालाई यस वर्गमा राखिएको छ ।
प्राधिकरणले वर्षाका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुग्न सक्ने, पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
विशेषगरी रातिको समयमा जोखिम बढी हुने पहाडी तथा नदी किनारका सडकमा अनावश्यक यात्रा नगर्न र स्थानीय अवस्था तथा सम्बन्धित निकायको सूचनालाई आधार बनाएर मात्रै सवारी सञ्चालन गर्न आग्रह गरिएको छ ।
प्राधिकरणको नक्सामा रातो क्षेत्रका लागि सबैभन्दा कडा सतर्कता, सुन्तला क्षेत्रमा समयअनुसार सवारी सञ्चालनसम्बन्धी निर्णय र पहेंलो क्षेत्रमा सामान्य सतर्कता अपनाउनुपर्ने व्यवस्था देखाइएको छ ।

प्रतिक्रिया