धाप ड्यामको अवस्था के छ ? जोखिम छ कि छैन ?

धाप ड्यामको अवस्था के छ ? जोखिम छ कि छैन ?


काठमाडौं । लगातारको वर्षापछि धाप बाँध (ड्याम)को अवस्थाबारे चासो बढिरहेका बेला आयोजनाले बाँधको मुख्य संरचनामा हालसम्म कुनै असामान्य अवस्था नदेखिएको ऊर्जामन्त्रीको सचिवालय‍ले पठाएको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं उपत्यकाको पानीको आवश्यकता पूरा गर्ने तथा वर्षायाममा संकलित पानीलाई सुख्खायाममा उपयोग गर्ने उद्देश्यले निर्माण गरिएको धाप बाँधको जलाशय, बाँधको अवस्था, पानीको बहाव (इन्फ्लो/आउटफ्लो) र आसपासका क्षेत्रको नियमित निरीक्षण तथा निगरानी भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

आयोजनाका अनुसार धाप बाँध ‘कन्क्रिट फेस्ड रकफिल ड्याम’ (सीएफआरडी) प्रविधिमा निर्माण गरिएको हो । पछिल्लो समय मनसुनजन्य वर्षाका कारण जलाशय तथा बाँध आसपास पानीको बहाव बढेको भए पनि बाँधको मुख्य संरचनामा हालसम्म कुनै असामान्य अवस्था देखिएको छैन ।

धाप बाँधको जलाशयमा सामान्य पानीको सतह २०८७.१४ मिटर तोकिएको छ । यो सतहभन्दा पानी माथि पुगेमा अतिरिक्त पानी स्पिलवेबाट स्वतः बाहिर जाने व्यवस्था रहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रतिवेदनअनुसार विगतको मनसुनमा करिब १५ दिनमा ४०० मिलिमिटर वर्षा हुँदा बाँधमा आउने पानीको बहाव (इन्फ्लो) करिब ८० लिटर प्रतिसेकेन्डसम्म पुगेको थियो । त्यतिबेला जलाशयबाट करिब ४०० लिटर प्रतिसेकेन्ड पानी निरन्तर बाहिर पठाइएको थियो । सो अवधिमा जलाशयको पानीको सतह करिब ४.५२ मिटर घटेको थियो ।

यसैबीच, २०८३ भदौ २४ गते साँझ सेडल ड्याम–१ नजिक सडक किनारामा पहिरो गएपछि सुरक्षाका दृष्टिले सोही दिन साँझदेखि करिब ४०० लिटर प्रतिसेकेन्ड पानी आउटफ्लोमार्फत निरन्तर बाहिर पठाइँदै आएको छ ।

पहिरो गएको समयमा जलाशयको पानीको सतह २०८७.१८ मिटर रहेकोमा अहिले २०८४.८० मिटरमा झरेको छ । अर्थात् उक्त अवधिमा जलाशयको पानीको सतह करिब २.३८ मिटर घटेको छ ।

यस अवधिमा जलाशयमा सञ्चित पानीको करिब ३५ प्रतिशत पानी आउटफ्लोमार्फत निकासा भइसकेको छ ।

पछिल्लो समय वर्षाको मात्रा क्रमशः घट्दै गएकाले बाँधमा आउने पानीको बहावसमेत घट्न सक्ने आकलन गरिएको छ । त्यसैले हाल जलाशयको पानीको सतह र पानीको बहावलाई विशेष निगरानीमा राखिएको छ ।

आगामी दिनमा अपेक्षाभन्दा बढी वर्षा भए पनि जलाशयको पानीको सतह २०८७.१४ मिटरभन्दा माथि पुगेमा अतिरिक्त पानी स्पिलवेबाट स्वतः बाहिर जाने व्यवस्था रहेको छ । आवश्यकताअनुसार आउटफ्लो व्यवस्थापन गरेर जलाशयको पानीको सतह सुरक्षित सीमाभित्र राख्ने काम भइरहेको छ ।

बाँध आसपासका केही स्थानमा देखिएको पहिरो तथा पानीको बहावलाई समेत ध्यानमा राखेर आवश्यक पानी निकास, संरक्षण तथा आपत्कालीन व्यवस्थापनका काम भइरहेको जनाइएको छ ।

जलाशयको अवस्था, इन्फ्लो, आउटफ्लो र पानीको सतहलाई निरन्तर निगरानीमा राखी प्राविधिक मूल्याङ्कनका आधारमा पानी व्यवस्थापन भइरहेको भन्दै आयोजनाले हालको अवस्थालाई लिएर सर्वसाधारण आत्तिनुपर्ने अवस्था नरहेको बताइएको छ ।