काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो परिवारको जिउज्यानमा गम्भीर सुरक्षा चुनौती रहेको भन्दै थप सुरक्षा व्यवस्था मिलाइदिन प्रहरीसमक्ष आग्रह गरेका छन् ।
उनको तर्फबाट छोरा सचिन्द्र शमशेर जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दर्ता गर्दै निवास, परिवार तथा व्यक्तिगत सुरक्षामा राज्यको विशेष ध्यान पुगोस् भनी अनुरोध गरेका हुन् ।
प्रहरी कार्यालयमा दर्ता गरिएको निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उठिरहेका शान्ति–सुरक्षासम्बन्धी विषयका कारण परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख छ ।
निवेदनमा राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा प्रधानन्यायाधीशको हैसियतमा गरेका न्यायिक निर्णयका कारण आफू थप असुरक्षित महसुस गरिरहेको बताएका छन् । उनले केही सुरक्षासम्बन्धी जानकारी प्रहरी कार्यालय पुगेपछि पनि प्राप्त गरेको उल्लेख गर्दै थप सुरक्षा आवश्यक भएको बताएका छन् ।
“मेरो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै छ । त्यसैले मेरो निवास, परिवार तथा जिउज्यानको सुरक्षामा आवश्यक व्यवस्था मिलाइयोस्,” निवेदनमा भनिएको छ ।
यसअघि प्रहरीले राणालाई नियन्त्रणमा लिएर करिब १२ घण्टापछि रिहा गरेको थियो । त्यसलगत्तै उनको तर्फबाट सुरक्षा माग गर्दै प्रहरीमा निवेदन दर्ता गरिएको हो ।

प्रतिक्रिया