काठमाडौं । सरकारले प्रशासन र प्राविधिकतर्फका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू आभा श्रेष्ठ कर्ण र डा. जगदीश्वर कर्माचार्यलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
नेपाल प्रशासन सेवा, समूहिकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा भएकी कर्णलाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिवमा पदस्थापन गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फ राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा भएका डा. कर्माचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ। यसअघि सचिव बढुवा सिफारिस समितिले प्रशासनतर्फ आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्य तथा प्राविधिकतर्फ डा. जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठको नाम सिफारिस गरेको थियो।
सिफारिस भएकामध्ये वरिष्ठताको आधारमा कर्ण र कर्माचार्य सचिवमा बढुवा भएका हुन्। कर्ण यसअघि महिला मन्त्रालयमा तथा कर्माचार्य ऊर्जा मन्त्रालयमा कार्यरत थिए।

प्रतिक्रिया