रसुवा । उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना विद्यार्थी भोटेकोशी बाढीपछि हरेक दिन जोखिमपूर्ण यात्रा गरेर विद्यालय पुग्न बाध्य छन्।
यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण शान्तिबजार र पैरेबेँसीबाट विद्यालय आउने विद्यार्थीले खोला तर्नेदेखि तुइनमा नदी पार गर्नेसम्मका जोखिम मोल्नुपरेको हो। विद्यालयकी शिक्षिका रञ्जना थापाका अनुसार विद्यार्थीहरू दैनिक सलाखु खोला तरेर करिब एक घण्टा पैदल हिँड्छन्। त्यसपछि गाडीको पछाडि झुन्डिएर त्रिशूली किनारको कोलोनीसम्म पुग्ने गरेका छन्।
कोलोनी पुगेपछि उनीहरूले तुइनको सहारामा उर्लँदो त्रिशूली नदी पार गरेर ढुङ्गे बजार पुग्नुपर्छ। ढुङ्गे बजारबाट माइक्रोबस चढेर आङ्गिटार पुगेपछि सिहाले गाउँ हुँदै करिब आधा घण्टा उकालो पैदल हिँडेर बेत्रावती पुग्छन्। बेत्रावती पुगेपछि फड्के तरेर थप २० मिनेट उकालो हिँडेपछि मात्र उनीहरू विद्यालय पुग्ने गरेका छन्।
बाढीपछि विद्यार्थीले दैनिक रूपमा खेपिरहेको यो सास्ती भोटेकोशी बाढीले शिक्षा क्षेत्रमा पारेको असरको एउटा उदाहरण भएको शिक्षिका थापा बताउँछिन्। “यो दन्त्यकथा होइन, भोटेकोशी बाढीले सिर्जना गरेको वास्तविकता हो,” उनले भनिन्।
शिक्षाका लागि विद्यार्थीले दैनिक यति ठूलो जोखिम मोल्नुपर्ने अवस्थालाई तीनै तहका सरकारले गम्भीरतापूर्वक लिएर तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।

प्रतिक्रिया