जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन्।
शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सभापति लामिछानेले सरकारलाई पार्टीले दिने सल्लाह, सुझाव र आलोचनालाई लिएर अनावश्यक हल्ला फैलाउने गरिएको भन्दै त्यस्ता प्रचारमा विश्वास नगर्न आग्रह गरेका हुन्।
सरकार आफ्नै प्रतिबद्धता पूरा गर्ने काममा तल्लीन भएर लागेको उल्लेख गर्दै उनले पार्टीले सरकारलाई दिने सुझाव र आलोचनालाई फुटको संकेतका रूपमा नभई बलियो आन्तरिक लोकतन्त्रको उदाहरणका रूपमा बुझ्नुपर्ने बताए।
रास्वपा लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीभित्र पक्ष र विपक्षमा हुने बहसलाई सकारात्मक रूपमा लिने गरेको उनको भनाइ थियो।
सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई काम गर्ने अवसर दिएको उल्लेख गर्दै अहिले प्राप्त जनमतबाट पनि मधेशले परिवर्तनको आशा गर्न र महसुस गर्न नसके अर्को पटक आफू भोट माग्न नआउने बताए।
जनतालाई झुक्याएर भोट माग्ने चरित्र स्थापित हुने हो भने त्यस्तो राजनीति आफूलाई स्वीकार्य नहुने उनको भनाइ थियो।
मधेशी जनताको जीवनमा परिवर्तन आउने आशा, भरोसा र विश्वासका साथ प्राप्त अवसरलाई धोका नदिन उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

प्रतिक्रिया