जित्नैपर्ने दबाबपूर्ण खेलमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको चुनौतीर्पूर्ण लक्ष्य

जित्नैपर्ने दबाबपूर्ण खेलमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको चुनौतीर्पूर्ण लक्ष्य


काठमाडौं । एनपीएलको लिग चरणको अन्तिम खेलमा विराटनगर किंग्सले साविक विजेता लुम्बिनी लायन्सलाई १६७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस जितेर लुम्बिनीले विराटनगरलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । विराटनगरले ४ विकेट गुमाएर १६६ रन बनायो ।

विराटनगरका लागि चरिथा अशलंकाले उत्कृष्ट ब्याटिङ गर्दै ४३ बलमा ६४ रन बनाए । यस्तै शुभम रञजनेले ३१ रन बनाए भने घाइते भएर रिटायर्डहट हुनुअघि इमरान शेखले २४ रन बनाए । स्पिनरलाई सहयोगी देखिएको पिचमा विराटनगरले बनाएको यो स्कोर लुम्बिनीका लागि कठिन हुन सक्छ ।

आजको खेल जितेमा विराटनगरको प्लेअफ सम्भावना नेटरनरेट र अरु टिमको प्रदर्शनमा भर पर्नेछ । विराटनगरको ८ अंक पुग्नेछ । यस्तो बेला काठमाण्डु गोर्खाज, चितवन राइनोज (अन्तिम खेल जितेमा) र विराटनगरमध्ये कुनै दुई टिम प्लेअफमा पुग्न सक्छन् ।

उता प्लेअफमा पुगिसकेको लुम्बिनीका लागि भने शीर्ष स्थानमा पुग्न यो जित आवश्यक छ । यदि यो खेलमा लुम्बिनी विजयी भएमा काठमाण्डु र चितवन प्लेअफ पुग्ने बाँकी दुई टिम हुनेछन् ।