यसवर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोर जी सेवा विस्तार गरिने

यसवर्ष दुई सय टेलिफोन टावर र १५९७ स्थानमा फोर जी सेवा विस्तार गरिने


काठमाडौं । सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधार गर्न यसै वर्ष दुई सय नयाँ टेलिफोन टावर निर्माण तथा एक हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गरिने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार, सेवा सुधार र सेवालाई थप भरपर्दो बनाउने ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए ।

उनका अनुसार नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा छ । त्यस्तै, एक हजार ५९७ स्थानमा फोरजी सेवा सञ्चालनका लागि आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने क्रममा रहेको छ ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल सेवा प्रभावित नहोस् भनेर टावरहरूको पावर ब्याकअप क्षमता बढाउने काम भइरहेको उनले बताए । पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप फेरिएको जानकारी दिँदै उनले ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिने बताए ।

हाल करिब ५ सय ब्याट्री मौज्दात रहेको र आवश्यक स्थानमा आगामी तीन महिनाभित्र ब्याकअप अद्यावधिक गर्ने लक्ष्य रहेको उनले बताए । थप २ सय ब्याट्री खरिदका लागि बोलपत्र प्रक्रिया अघि बढाइएको छ ।

त्यस्तै, ३२ वटा सोलार साइटमा पावर ब्याकअप तथा सोलार प्रणालीको क्षमता वृद्धि गर्ने काम अघि बढेको उनले जानकारी दिए । राष्ट्रिय प्रसारण प्रणाली नपुगेका क्षेत्रमा रहेका सोलार साइटमा ब्याट्री तथा उपकरण चोरी र टावरमा भौतिक क्षति हुने गरेको भन्दै मन्त्री तिमिल्सिनाले त्यस्ता कार्यमा संलग्नलाई कडा कारबाही गरिने बताए ।

मन्त्री तिमिल्सिनाले भोटेकोशी बाढीका कारण नेपाल टेलिकमको मोबाइल, वायरलाइन तथा ब्याकबोन प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए ।

रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो । तीमध्ये त्रिशूली–३ ‘बी’, चिलिमे खोला र टिमुरेका तीन साइट पूर्णरूपमा क्षतिग्रस्त भएका थिए ।

ती तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उनले बताए । टिमुरेको टावरमा हेलिकप्टरमार्फत सोलार जडान गरी सेवा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

रसुवा, नुवाकोट र धादिङमा रहेको ६५ दशमलव ३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७ दशमलव ९ किलोमिटर बाढीबाट क्षतिग्रस्त भएकोमा २७ दशमलव ४ किलोमिटर मर्मत भइसकेको उनले बताए ।

रसुवा र नुवाकोटका तीन ओएलटी पूर्णरूपमा क्षतिग्रस्त भए पनि अधिकांश पुनःप्राप्त गरी सेवा सञ्चालनमा ल्याइएको मन्त्री तिमिल्सिनाले जानकारी दिए । टिमुरे र रसुवागढी क्षेत्रमा क्षतिग्रस्त फाइबर तथा माइक्रोवेभमध्ये हाल फाइबरको सट्टा माइक्रोवेभ प्रविधिबाट ब्याकबोन प्रसारण सेवा पुनःस्थापना गरिएको उनले बताए ।