सुर्खेत । ठूलीभेरी नदीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनैमा लगातारको वर्षा र कुहिरोपछि मौसम खुलेसँगै प्राकृतिक सौन्दर्य छताछुल्ल भएको छ ।
हरिया डाँडापाखा, सफा आकाश, कलकल बगिरहेको ठूली भेरी नदी र टाढा देखिने हिमाली दृश्यले दुनैको आकर्षण थपिएको छ ।
भेरी कोरिडोर हुँदै जाजरकोटबाट डोल्पा प्रवेश गर्ने पर्यटकका लागि दुनै पहिलो प्रमुख गन्तव्य हो । जिल्लाका सरकारी कार्यालयको प्रशासनिक केन्द्रसमेत रहेको दुनैबाट फोक्सुन्डो ताल, शे–गुम्बा, धो तरापलगायतका पर्यटकीय क्षेत्रमा पुग्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक यहाँ बास बसेर आफ्नो गन्तव्यतर्फ जाने गरेका छन् ।
केही दिनदेखि लगातार परेको वर्षा र कुहिरोले ढाकिएको दुनैमा मौसम खुलेसँगै वरिपरिका हरिया पहाड र ठूली भेरी नदीको मनमोहक दृश्य देखिन थालेको छ । प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्ने गरेको स्थानीय जुना ठकुल्लाले बताइन् । ‘ठूली भेरी नदीको किनारमा रहेको दुनै बजार वरिपरिका हरिया डाँडा, सफा आकाश र नदीको कलकल आवाजले यहाँ आउने जोकोहीको मन लोभ्याउँछ,’ उनले भनिन् ।
वर्षाका कारण केही दिन डोल्पाको जनजीवन, सडक यातायात र पर्यटकीय गतिविधिसमेत प्रभावित भएका थिए । खराब मौसमका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रासमेत प्रभावित भएको थियो । पर्यटकलाई मौसम र पदमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालले बताइन् ।
मौसम खुलेसँगै दुनैको प्राकृतिक सौन्दर्य फेरि देखिन थालेको पर्यटन व्यवसायी जीतेन्द्र झाँक्रीले बताए । उनका अनुसार मौसम अनुकूल हुँदा दुनै वरिपरिका पहाड र हिमाली दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेका छन् ।
ठूली भेरी नदीको किनारमा पहाडले घेरिएको दुनै डोल्पाको प्रशासनिक केन्द्र मात्रै नभई जिल्लामा प्रवेश गर्ने पर्यटकका लागि पहिलो आकर्षणसमेत रहेको शिक्षक जयकृष्ण हमाल बताउँछन् । ठूली भेरी नगरपालिकाको केन्द्रसमेत रहेको दुनैसहित नगरपालिकामा ११ वडा छन् । नगरपालिकाको नामसमेत यही क्षेत्र हुँदै बग्ने ठूली भेरी नदीबाट राखिएको हो ।
खुलेको मौसममा हिमाल र हरियालीको आकर्षण
वर्षापछि खुलेको मौसमले डोल्पाका डाँडापाखा हरियालीसँगै झनै आकर्षक देखिएका छन् । सदरमुकाम दुनैबाट करिब आधा घण्टाको दूरीमा रहेको जुफाल विमानस्थल आसपासबाट मुकुटेश्वरी हिमाललगायतका हिमाली दृश्य अवलोकन गर्न सकिन्छ । हिउँले ढाकिएका हिमाल र आसपासका प्राकृतिक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको स्थानीय शिक्षक बालकृष्ण डाँगीले बताए ।
दुनै वरिपरिको भूगोल प्राकृतिक विविधताले भरिएको छ। एकातिर ठूली भेरी नदी र अर्कोतिर अग्ला पहाडका बिचमा रहेको बजारले हिमाली भूगोल र मानव बस्तीबिचको सम्बन्धलाई समेत झल्काउँछ। मौसम खुलेपछि यहाँबाट देखिने प्राकृतिक दृश्यले डोल्पाको पर्यटकीय सम्भावनालाई थप उजागर गरेको छ ।
दुनैको प्राकृतिक सुन्दरता वर्षा याममा जोखिमसँग पनि जोडिएको छ। बजारकै छेउबाट ठूली भेरी नदी बग्ने भएकाले वर्षातका बेला नदीको बहाव बढ्दा तटीय क्षेत्रका बासिन्दा जोखिममा पर्ने गरेका छन् । भारी वर्षाका बेला नदीको सतह बढेपछि बजार आसपासका बासिन्दालाई सतर्क रहन आग्रहसमेत गरिँदै आएको छ ।
वर्षाका कारण सडक यातायातमा पटक–पटक अवरोध हुँदा स्थानीयको आवागमनसँगै पर्यटकको यात्रा पनि प्रभावित हुने गरेको छ । सडक नियमित नहुँदा स्थानीय उत्पादनको बजारीकरणमा समेत समस्या हुने गरेको शिक्षक डाँगी बताउँछन् । उनका अनुसार सडक तथा अन्य पूर्वाधारको विकाससँगै डोल्पाको प्राकृतिक र पर्यटकीय महत्त्व थप उजागर हुन सक्छ ।
पर्यटनको प्रवेशद्वार दुनै
दुनै डोल्पाका प्रमुख पर्यटकीय गन्तव्य पुग्ने प्रवेशद्वार हो । जिल्लामा रहेको शे–फोक्सुन्डो ताल, शे–गुम्बा, त्रिपुरासुन्दरी मन्दिर, धो तराप र जगदुल्ला ताललगायतका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक गन्तव्यले डोल्पालाई पर्यटकीय दृष्टिले महत्त्वपूर्ण बनाएका छन् ।
पछिल्ला वर्षमा फोक्सुन्डो क्षेत्रमा पर्यटकको आकर्षण बढे पनि सडक, सञ्चार र अन्य आधारभूत पूर्वाधारको अभाव चुनौतीका रूपमा रहेको छ। दुर्गम भूगोल र मौसममा हुने परिवर्तनले पनि पर्यटकीय गतिविधिमा प्रभाव पार्दै आएको छ ।
मौसम खुलेसँगै दुनैमा देखिएको प्राकृतिक सौन्दर्यले डोल्पाको पर्यटन सम्भावनालाई पुनः उजागर गरेको छ । वर्षायामपछि मौसम अनुकूल हुँदै जाँदा जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ । प्राकृतिक सम्पदाको संरक्षण, पूर्वाधार विकास र सुरक्षित यात्राको व्यवस्थापन गर्न सके डोल्पाको पर्यटनले स्थानीय अर्थतन्त्रमा थप योगदान पुर्याउन सक्ने देखिन्छ ।

प्रतिक्रिया