कांग्रेस महाधिवेशन : घण्टौँ लाइनमा बसेर मतदान गर्दै प्रतिनिधि

कांग्रेस महाधिवेशन : घण्टौँ लाइनमा बसेर मतदान गर्दै प्रतिनिधि


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदान गर्न खुलामञ्चस्थित मतदानस्थलमा प्रतिनिधिहरू घण्टौँ लाइनमा बसेका छन् ।

पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान गर्न विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू उत्साहका साथ मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।

सप्तरी क्षेत्र नम्बर ४ का प्रतिनिधि अनिल चौधरी बिहान साढे ७ बजेदेखि लाइनमा बसेको बताउँछन् । लामो समय लाइनमा बस्नुपरे पनि मतदान गरेरै फर्किने उनको भनाइ छ ।

आफूले मत दिएका उम्मेदवारले जित्नेमा शतप्रतिशत विश्वास रहेको उनले बताए ।

चौधरीले नेपाली कांग्रेसले लोकतन्त्रका लागि गरेको योगदान र विभिन्न आरोह–अवरोह पार गर्दै पार्टीलाई यहाँसम्म ल्याएको भन्दै सभापति गगन थापालाई पुनः मतदान गर्न आफूहरू आएको बताए ।

त्यस्तै, सिरहा क्षेत्र नम्बर ४ का प्रतिनिधि सीताराम यादव पनि मतदानका लागि बिहानैदेखि मतदानस्थलमा पुगेका थिए । मतदानका लागि केही कठिनाइ भए पनि आफू उत्साहित भएर जिल्लाबाट आएको उनले बताए । आफूले मत दिएका उम्मेदवारले जित्ने विश्वाससमेत उनले व्यक्त गरे ।

सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि जंगबहादुर महतोले जति समय लागे पनि मतदान गरेरै फर्किने बताए । वर्तमान राजनीतिक अवस्थालाई निकास दिन महाधिवेशन महत्त्वपूर्ण हुने विश्वासका साथ आफूहरू प्रतिनिधि भएर नेतृत्व चयन प्रक्रियामा सहभागी भएको उनले बताए ।

महाधिवेशनमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू लामो समय लाइनमा बसेर मतदानमा सहभागी भइरहेका छन् । नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानसँगै खुलामञ्चस्थित मतदानस्थलमा चहलपहल बढेको छ ।