अमेरिकी दबाब अस्वीकार गर्दै जेलेन्स्की – रुसका तेल प्रशोधन केन्द्रमा फेरि आक्रमण गर्छौँ

अमेरिकी दबाब अस्वीकार गर्दै जेलेन्स्की – रुसका तेल प्रशोधन केन्द्रमा फेरि आक्रमण गर्छौँ


काठमाडौं । युक्रेनले रुसका तेल प्रशोधन केन्द्रमा पुनः आक्रमण सुरु गर्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । उनले अमेरिकाले महत्त्वपूर्ण सहयोग फिर्ता लिएको आरोपसमेत लगाएका छन् ।

युक्रेनी राष्ट्रपतिका अनुसार वासिङ्टनको आग्रहमा उनले तीन दिनका लागि त्यस्ता आक्रमण रोकेका थिए । तर रुसले भने युक्रेनको ऊर्जा पूर्वाधारमा आक्रमण जारी राख्यो । ‘अब अति भयो,’ उनले फाइनान्सियल टाइम्स (एफटी) सँग भनेका छन् ।

जेलेन्स्कीले रुसमाथिका आक्रमण पूर्ण रूपमा रोक्न दबाब दिन अमेरिकाले रुसी आक्रमणसम्बन्धी गुप्तचर सूचना आदानप्रदान बन्द गरेको आरोप पनि लगाए । उनका अनुसार रुसबाट डिजेल आयात गर्ने सम्झौता भएपछि अमेरिकाले युक्रेनमाथि यस्तो दबाब दिएको हो । युक्रेनी सेनाले प्रयोग गर्दै आएको स्टारलिंक स्याटेलाइट सेवाको गति घटाइनु पनि जानाजानी गरिएको उनको आरोप छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार घोषणा गरेको तथाकथित ‘ऊर्जा युद्धविराम’ पालना गर्न रुस पनि सहमत भए आफूले त्यसलाई स्वीकार गर्ने जेलेन्स्कीले बताएका थिए ।

तर प्रस्ताव सार्वजनिक भएको केही घण्टामै रुसले त्यसलाई बेवास्ता गरेको जेलेन्स्कीको आरोप छ । रुसी आक्रमणका कारण लाखौँ युक्रेनी नागरिक विद्युत् सेवाबाट वञ्चित भएको उनले बताए । क्रेमलिनले भने उक्त सम्झौतामा आफू सहमत भएको कहिल्यै जनाएको थिएन ।

बुधबार राति पियर्स मोर्गनसँगको अन्तर्वार्तामा अमेरिकाले आफ्नो महत्त्वपूर्ण सहयोगका केही पक्ष फिर्ता लिएको देखिएपछि आफूलाई अमेरिकाले धोका दिएको महसुस भएको हो भन्ने प्रश्नमा जेलेन्स्कीले सहमति जनाएका थिए ।

जेलेन्स्कीले एफटीसँग कुरा गर्दै अमेरिकी अधिकारीहरूले युक्रेनी अधिकारीलाई ‘यदि तपाईंहरूले आक्रमण रोक्नुभएन भने हामी गुप्तचर सूचना रोक्नेछौँ’ भनेको बताए ।

रुसी हवाई आक्रमणको पूर्वचेतावनी दिन अमेरिकाले उपलब्ध गराउने गुप्तचर सूचनामा युक्रेनी सेना निर्भर छ । यस्तो सूचनाले युक्रेनलाई आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय पार्न र रुसी आक्रमणबाट हुने क्षति कम गर्न मद्दत गर्छ । त्यस्तै, युक्रेनले युद्धका विभिन्न गतिविधिमा स्टारलिंकको इन्टरनेट सेवा प्रयोग गर्दै आएको छ ।

स्टारलिंक सेवाको गति घट्नु प्राविधिक त्रुटिका कारण भएको हुन सक्ने अनुमान गरिएको थियो । तर उक्त सेवाका मालिक एलन मस्कले यसमा प्राविधिक समस्या नभएको संकेत गर्दै ट्रम्प प्रशासनतर्फ औँल्याएका थिए । यद्यपि ट्रम्पले गुप्तचर सूचना आदानप्रदान रोकिएको भन्ने आरोप अस्वीकार गरेका छन् ।

‘यो प्राविधिक समस्या थिएन, यो इच्छाको कुरा थियो,’ लन्डनमा रहेका बेला जेलेन्स्कीले एफटीसँग भने ।

अब अमेरिकाले प्याट्रियट हवाई प्रतिरक्षा प्रणालीका थप क्षेप्यास्त्र उपलब्ध गराएमा मात्रै रुसको तेल पूर्वाधारमाथिका आक्रमण रोक्ने उनले बताएका छन् । युक्रेनले रुसी युद्ध अभियानका लागि आवश्यक आम्दानीको स्रोत बन्द गर्न त्यहाँका तेल प्रशोधन केन्द्रमा आक्रमण गर्नु महत्त्वपूर्ण रहेको बताउँदै आएको छ ।

इरान युद्ध सुरु भएपछि अमेरिकी हतियारको भण्डारमा दबाब बढेकाले युक्रेनले अमेरिकामा निर्मित हवाई प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्रको अभाव भोगिरहेको छ ।

पछिल्लो समयभन्दा केही कडा अभिव्यक्ति दिँदै जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पको निरंकुश नेताहरूप्रति झुकाव रहेको बताए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्ता नेतासँग ट्रम्पको निकटता रहेको संकेत गरेका हुन् ।

गत एक साताका घटनालाई हेर्दा अमेरिका र युक्रेनबीचको सम्बन्ध सुधार्ने जिम्मेवारी आफ्नो नभएको जेलेन्स्कीले बताए । ‘हामीले कुनै सम्बन्ध बिगारेका छैनौँ,’ उनले भने ।

यसअघि पनि दुई नेताबीच तनाव उत्पन्न भएको थियो । गत वर्ष ह्वाइट हाउस फर्किएपछि ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसको ओभल अफिसमा चर्काचर्की भएको थियो । त्यस क्रममा ट्रम्पले शान्ति सम्झौता हुन नसक्नुको मुख्य अवरोध जेलेन्स्की नै भएको संकेत गरेका थिए ।

त्यसयता जेलेन्स्कीले कूटनीतिक रूपमा सावधानीपूर्वक अघि बढ्दै अमेरिकाको मध्यस्थतामा हुने सम्झौताप्रति सकारात्मक देखिने प्रयास गरेका छन् । तर कुनै पनि शान्ति सम्झौताका सर्त न्यायोचित हुनुपर्नेमा उनले जोड दिँदै आएका छन् ।

यद्यपि, गत साता रुस र अमेरिकाबीच भएको ३ लाख टन डिजेल अमेरिकी बजार तथा विश्व बजारमा उपलब्ध गराउने सम्झौताप्रति उनले आलोचना गरेका छन् । उनका अनुसार अमेरिकाले यस्तो सम्झौतामार्फत रुसको युद्ध अभियानमा लगानी गरिरहेको छ ।

इरान युद्धका कारण इन्धनको मूल्य बढेपछि त्यसको राजनीतिक असर कम गर्न ट्रम्पले गरेको पछिल्लो प्रयासका रूपमा उक्त सम्झौतालाई हेरिएको छ । अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा इन्धनको मूल्य घटाउने दबाब ट्रम्पमाथि छ ।

इरान युद्धका कारण पेट्रोल र विशेषगरी डिजेलको मूल्य तीव्र रूपमा बढेको छ । यसले अमेरिकी जनतामाझ ट्रम्पको लोकप्रियतामा नकारात्मक असर पारेको छ ।

जेलेन्स्कीले एफटीसँग भने, ‘अब प्रश्न के हुनेछ भने अर्को सम्झौता कहिले हुन्छ? त्यो ग्याससम्बन्धी हुन सक्छ । निश्चित रूपमा ग्यासकै विषय हुनेछ ।’

रुसले युक्रेनमाथि आक्रमण जारी राखिरहेको अवस्थामा अमेरिकाले सहयोगमा गरेको कटौती संयोग मात्र नभएको जेलेन्स्कीले संकेत गरेका छन् ।

स्टारलिंक स्याटेलाइटमार्फत उपलब्ध हुने उच्च गतिको इन्टरनेट युक्रेनी सेनाले ड्रोन सञ्चालन गर्न र अग्रपङ्क्तिमा रहेका सैनिकसँग सञ्चार सम्पर्क कायम गर्न प्रयोग गर्छ । युक्रेनी अधिकारीहरूले इन्टरनेटको अपलिङ्कमा गति सीमा लागू गर्नुअघि आफूहरूलाई कुनै जानकारी नदिइएको बताएका छन् ।

यस प्रविधिको सैन्य प्रयोजनका लागि तयार गरिएको संस्करण ‘स्टारसिल्ड’ अमेरिकी रक्षा मन्त्रालयसँगको सम्झौताअन्तर्गत उपलब्ध गराइएको छ ।

मस्कले आफ्नो कम्पनी स्पेसएक्सले उक्त प्रणालीमा प्रतिबन्ध लगाएको भन्ने आरोप अस्वीकार गरेका छन् । उनले सेवाको गति घटाउने निर्णय अमेरिकी सरकारले गरेको हुन सक्ने संकेत गरेका छन् ।

बुधबार उनले उक्त प्रणाली अमेरिकी सरकारको स्वामित्वमा रहेको र उसैले नियन्त्रण गर्ने बताएका थिए । ‘गति वा प्रयोगमा लगाइने कुनै पनि सीमा अमेरिकी सेनाले र अन्ततः ट्रम्पले निर्धारण गर्छन्,’ उनले लेखेका थिए ।

ट्रम्प प्रशासनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । बीबीसीले यसबारे प्रतिक्रिया लिन ह्वाइट हाउस र अमेरिकी रक्षा मन्त्रालयसँग सम्पर्क गरेको जनाएको छ ।